काठमाडौं । आउँदो संसदीय चुनावमा उम्मेदवारी दिने तयारी गरिरहेका स्वतन्त्र व्यक्तिहरुले दलको विकल्प दल नै रहेको निष्कर्ष निकालेका छन् ।
शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफलसमेत सुरु भएको छ ।
दलको विकल्प दल नै भएकाले आगामी संसदीय चुनावमा दल नै गठन गरेर जाने विषयमा छलफल सुरु भएको काठमाडौं महानगरपालिकाका स्वत्त्रतर्फका मेयर उम्मेदवार सुमन सायमीले बताए ।
उनले दल ठिक छैन भन्ने जनतामा भ्रम परेको उल्लेख गर्दै त्यस्तो भ्रम हटाउन र संसदमा कानुन निर्माणका लागि बहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरुबीच छलफल सुरु गरिएको बताए।
संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ भएको र त्यहाँ बहुमतको कदर हुने भन्दै उनले एक व्यक्तिले कानुन बनाउन नसक्ने भएकाले दलको विकल्प दल नै रहेको बताए ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनमामा स्वतन्त्रको पनि एउटा दल आवश्यकता छ भन्ने निष्कर्षका साथ आफू विशेष भेलामा सहभागी भएको सायमीले बताए ।
दलको विकल्प दल नै भएको निष्कर्षसहित अघि बढिरहेका उनै सुमन सायमीलाई नेपाली कांग्रेसले पार्टी प्रवेशको अफर गरेको छ । कांग्रेसले आफूले चाहेको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्न र चुनाव जितेपछि महत्वपूर्ण मन्त्रालय सम्हाल्न अफर गरेको सायमीले नेप्लिज टाइम्ससँग खुलासा गरे ।
उनले भने, ‘मलाई पार्टी प्रवेशका लागि विभिन्न राजनीतिक दलहरुले अफर गरिरहेका छन् । नेपाली कांग्रेसले त धेरै पटक नै कांग्रेस प्रवेश गर्न भनिरहेको छ । तर म कुनै पनि पार्टी प्रवेश गर्दिनँ । बरु छुट्टै राजनीतिक पार्टी निर्माणमा लागेको छु । अहिले यसै विषयमा छलफल भइरहेको छ ।’
आफूलाई कांग्रेस पार्टी प्रवेश गराउनका लागि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले विभिन्न चरणमा विभिन्न नेताहरुमार्फत मान्छे पठाइरहेकोसमेत उनले खुलासा गरेका छन् ।