Latest News

विमलालाई चोख्याउने गरी सरकारी प्रतिवेदन सार्वजनिक, मुख्यमन्त्रीले नै किन देखाए यस्तो हर्कत ?

Nepalese Times July 2, 2022 (2 Year ago)    428 Views

रुपन्देही । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई चोख्याउने गरी सरकारी प्रतिवेदन सार्वजनिक भएको छ ।

प्रेमी भनिएका एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र छोरीलाई कुटपिट तथा घरमा तोडफोडको आरोप लागेकी उनलाई चोख्याउनेगरी प्रतिवेदन सार्वजनिक भएको हो ।

जेठ ३१ गते वलीले दाङको तुलसीपुरमा उपमहानगरपालिका–५ मा वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा सुरक्षाकर्मीसहित पुगेर कुटपिट गरेको विषयमा छानबिन गर्न बनेको सरकारी छानबिन टोलीले आफ्नो प्रतिवेदन मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीले प्रतिवेदन अध्ययन गरेर सरकार अगाडि बढ्ने बताए । छानबिन समितिका संयोजक आन्तरिक मामिला मन्त्री तिलकराम शर्मा र सदस्य महिला तथा बालबालिका मन्त्री रमा घर्तीले बुझाएको प्रतिवेदनमा विमला र एकराजबीचको लेनदेन कारणले घटना घटेको निष्कर्ष निकालिएको छ ।

एउटै राजनीति दलका दुई व्यक्ति विभिन्न कार्यक्रम सहकार्य गर्दा सापटी रकम दिएर फिर्ता नहुँदा घटना भएको दाबीसहितको प्रतिवेदन आएको हो ।

तर प्रतिवेदनमा राज्यमन्त्रीजस्तो व्यक्तिले सर्वसाधारणको घरमा श्रीमती र छोरीसँग झगडा गर्नु कमजोरी भएको भने उल्लेख गरिएको छ । रकम असुली गर्नको लागि घरमै भन्दा अन्य विकल्प नखोज्नु कमजोरी भएको, विमला र एकराज बस्नेतबीच ६ लाख २० हजार रुपैयाँ लेनदेन भएको भन्दै प्रतिवेदनमा सो घटनामा विमलाले दायित्व बिर्सेर काम गरेको उल्लेख गर्दै सरकारले सचेत बनाउनुपर्ने राय दिइएको छ ।

प्रतिवेदनमा एकराज पक्षले पनि योजनाबद्ध रूपमा स्थानीयहरू बोलाउने र मिडिया पहिले नै खबर गरेर बसेकोजस्तो देखिएको शंकास्कापद रहेकोले थप छानबिन गर्नुपर्ने उल्लेख छ ।

एकराजले फोनमा घरै छु भनेपछि मन्त्री पुगेको तर नभेटिएपछि आवेगमा आएको प्रतिवेदनमा भनिएको छ । उक्त घटनामा एकराज बस्नेतकी श्रीमती मिनाले आफू र छोरीमाथि कुटपिट भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् ।

मन्त्री र सांसद भएकाले संसद् सचिवालयको पत्र नपाउन्जेल प्रहरीले दर्ता गर्न मानेको छैन । यस्ता गम्भीर विषयमा सरकारमै सहभागी मन्त्रीका विषयमा सरकारकै मन्त्रीले छानबिन गरेर यथार्थ रिपोर्ट आउन नसक्ने अधिकारकर्मीले यसअघि नै आशंका गरेका थिए ।

विमलाले असार १२ गते नै राजीनामा दिएको र स्वीकृत भएको भन्दै मुख्यमन्त्री कुलप्रसाद केसीले १५ गते प्रदेश सभालाई जानकारी गराए ।

तर वली आफैले राजीनामा नदिएको र दिनुपरे सांसद तथा पार्टीबाटै राजीनामा दिने पत्रकारलाई बताउँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस