काठमाडौं । नेपाली कांग्रेसमा डा. शेखर कोइराला नेतृत्वको समूहले सभापति शेरबहादुर देउवा पाँच दलीय गठबन्धनको सभापतिका रुपमा प्रस्तुत भएको निष्कर्ष निकालेको छ।
दुई दिनदेखि अनुपम फुडल्यान्डमा बसेको यो समूहको बैठकले सभापति देउवा कांग्रेसको भन्दा गठबन्धनको सभापति भएको निष्कर्ष निकालेको हो।
बैठकपछि बोल्दै शेखर समूहका नेता गोविन्द पोखरेलले महाधिवेशनको ६ महिना बितिसक्दा पनि देउवाले पुरानै शैलीमा एकलौटी पार्टी चलाउन खोजेको निष्कर्ष निकालिएको बताए।
‘सभापतिजी नेपाली कांग्रेसको भन्दा गठबन्धनको सभापति भए भन्ने हाम्रो निष्कर्ष हो’, पोखरेलले भने, ‘चौधौँ महाधिवेशनमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधि हाम्रो पक्षमा उभिएका थिए। तर देउवाले उनीहरुको पनि सभापति हो भन्ने देखाउन सकेनन्।’
उनका अनुसार राजश्व अनुसन्धान, सम्पत्ति सुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने काँग्रेसले संस्थागत निर्णय गरेको थियो ।
अहिले पनि उक्त निकाय प्रधानमन्त्री कार्यालय मातहत राखिनु पार्टीको प्रतिबद्धता विपरीत भएको शेखर समूहको ठहर छ । बजेट बनाउने बेला आर्थिक सुशासनको खिल्ली उठाइएको पोखरलेले बताए । उनले भने, ‘बजेट बनाउँदा ब्यापक नीतिगत भ्रष्टाचार गरिएको छ । यसलाई जतिसक्दो रोक्नुपर्छ भन्ने हाम्रो समूहको निष्कर्ष रह्यो ।’
परराष्ट्र नीतिमा सरकार सफल हुन नसकेको भन्दै शेखर समूहले ध्यानाकर्षण गराएको छ । सभापति शेरबहादुर देउवा पार्टीको भन्दा पनि गठबन्धनको सभापति भएर हिँडेको उक्त समूहको आरोप छ । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको पनि सभापति हुँ भन्ने अनुभूति देउवाले दिलाउन नसकेको पोखरेलले बताए ।
‘यसका विरुद्धमा हामी अहिले हरेक प्रदेश, पालिकामा दबाब दिने गरी अगाडि बढेका छौं’, पोखरेलले भने । भ्रातृ संस्थाका पूर्व पदाधिकारीले समानान्तर संरचना बनाउनेपर्नेमा जोड दिएका थिए । तर बैठकले समानान्तर कमिटी नबनाउने नीति लिएको छ ।
४० प्रतिशत मतको पनि सम्मान हुने गरी सभापतिलाई अगाडि बढ्न आग्रह गरेको छ । पोखरेलले भने, ‘हामीले कहिले पनि भागबन्डा मागेका थिएनौँ । तर, हाम्रो गुटमा ४० प्रतिशत मान्छे टिपेर ल्याएको होइन । तल्लो तहदेखि निर्वाचित भएर आएका छन् । त्यसैले उनीहरूको मतको पनि सम्मान गर्नुपर्छ भन्ने धारणा हो ।’
सभापति देउवाद्वारा फागुन ९ गते नेविसंघमा दुजाङ शेर्पा र तरुण दलमा विद्वान गुरुङलाई सभापति मनोनीत गरेका थिए । असार १० गते देउवाले किसान संघमा गणेश तिमिल्सिना र आदिवासी जनजाति संघको सभापतिमा ओमबहादुर थापालाई मनोनयन गरेका छन् । चार वटा भ्रातृ संस्थाको नेतृत्व ल्याउँदा आफूहरुलाई बेवस्ता गरेपछि कोइराला विरोधमा उत्रिएको छ ।