Latest News

काठमाडौंका सडकमा मकै बेच्नेमाथि नगर प्रहरीले गर्यो लछारपछार, बालेन्द्रको विरोध (भिडिओसहित)

Nepalese Times July 1, 2022 (2 Year ago)    757 Views

काठमाडौं । काठमाडौंका सडकमा हरियो मकै बेच्ने एक व्यक्तिमाथि नगर प्रहरीले लछारपछार गरेको छ।

शुक्रबार बिहान बालुवाटारको सडकमा प्रहरीले मकै बेच्नेमाथि लछारपछार गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

पत्रकार सृष्टि काफ्लेले खिचेर ट्विटरमा अपलोड गरेको भिडिओमा एक जना बुढा मान्छे र महिलाले नगर प्रहरीको अगाडि हात समाएर मकै नलैजान अनुरोध गरिरहेका देखिन्छन् ।

नगर प्रहरीले उनीहरूमाथि लछारपछार गरेका छन्। यसअघि काठमाडौं महानगरमा बेलुका ६ बजेपछि मात्र फुटपाथमा व्यापार गर्न नपाउने बताएको थियो।

निर्धारित समय र ठाउँमा बाहेक अन्य समय र ठाउँमा व्यापार गरेको भेटे उक्त सामान जफत गरिने महानगरको चेतावनी थियो।

नगर प्रहरीले ठेला नियन्त्रणमा लिँदा उनले हार गुहार गर्छिन्। तर, नगर प्रहरीले उनलाई हुत्याइदिएको भिडियोमा देख्न सकिन्छ। नियन्त्रणमा रहेको ठेला एक पुरुषले छुट्याउन खोज्दा नगर प्रहरीले उनलाई पनि हुत्याइदिन्छन्।

परिश्रम गरेर छाक टार्ने महिलामाथि नगर प्रहरीले गरेको अमानवीय व्यवहारलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस चलिरहको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई समेत विरोध गरिरहेका छन् ।

‘आज यी सामन्ती व्यापारीको घरमा चुलो बल्यो कि बलेन होला मेयरसाप ?’ दमोदर उपाध्यायले बालेन्द्रलाई ट्वीटरमा मेन्सन गर्दै प्रश्न गरेका छन्।

रमेश खतिवडाले रोजिरोटीको ग्यारेन्टी गरेरमात्र फुटपाथ बजारको व्यवस्था गर्न आग्रह गरेका छन्। ‘मेयर साप, महानगर व्यवस्थित गर्नुपर्छ तर पहिला गरिबको रोजिरोटीको व्यवस्था गर्नुहोस्। घोषणा पत्रमा भएबमोजिम वैकल्पिक फुटपाथ बजारको व्यवस्था गर्नुहोस्। अनिमात्र महानगरसँग यस्तो गर्ने नैतिकता रहन्छ ।

प्रतिक्रिया दिनुहोस