काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री पदको लफडाले सत्ता गठबन्धनमा विवाद चुलिएको छ । यसअघि भएको सहमति बमोजिम मुख्यमन्त्री पद छाड्न नमाने राजेन्द्र पाण्डेविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कांग्रेस र माओवादी केन्द्रले तयारी गरेको छ ।
सत्ता गठबन्धनको सहयोगमा एमालेकी अष्टलक्ष्मी शाक्यलाई विस्थापित गरेर एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बनेका थिए ।
त्यतिबेला तत्कालका लागि पाण्डे मुख्यमन्त्री बन्ने र पछि कांग्रेसका इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउन सहयोग गर्ने लिखित सहमति भएको गठबन्धनका नेताहरूको दाबी छ ।
तर अहिले पाण्डेले मुख्यमन्त्रीबाट हट्न आनाकानी गरेको र उल्टै एमालेसँग मिल्न खोजेको आरोप कांग्रेस माओवादीको छ । पूर्वसहमति बमोजिम पाण्डेले मार्गप्रशस्त नगरे आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी कांग्रेस र माओवादीले गरेका छन् ।
त्यसका लागि उनीहरूले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेका छन् । दबाब बढाउन आफ्नो पार्टीबाट मन्त्री रहेकाहरूलाई फिर्ता बोलाउनेसम्मको तयारी पनि छ ।
कांग्रेसका बागमती प्रदेश सभापति समेत रहेका बानियाँले चाँडै नै कांग्रेसको सरकार बन्ने दाबी गरेका छन् । पूर्वसहमतिको प्रक्रिया पूरा गर्न हस्ताक्षर संकलन अभियान सुरु भएको उनको भनाइ छ ।