काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको कार्यलय सचिव प्रकाश अधिकारी सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको पुष्टि गरे ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्।
जसपा नेपालभित्र सरकारमा जाने आकांक्षीहरुको दौडधुप सुरु भएको छ । जसपाका कार्यकारिणी सदस्य एवं सांसद महिन्द्र राय यादव, रेणु यादव, रामसहाय यादव, राजेन्द्र श्रेष्ठ गरी अहिले चार जना अहिले मन्त्री छन् । चारै जनालाई फिर्ता बोलाएर तिनको स्थानमा अन्य चार जना पठाउने तयारी जसपाको छ ।
मन्त्रीको आकांक्षीमा राष्ट्रिय सभा सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादव, सांसद एवं कार्यकारिणी सदस्य इस्तियाक राइ, केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादव, केन्द्रीय सदस्य एवं प्रमुख सचेतक प्रमोद साह, कार्यकारिणी सदस्य एवं सांसद अमृता अग्रहरी, संसद एवं मधेस प्रदेशका अध्यक्ष रामबाबु यादव, रेणुका गुरुङ, नरमाया ढकाल छन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारमा यसअघि मन्त्री पठाउँदा पनि जसपा नेपालभित्र असन्तुष्टि चुलिएको थियो । सरकारमा जान नपाएकामध्ये कसैले पार्टी कार्यालयमा आन्दोलन नै गरेका थिए भने कहीले गुट परिवर्तन गरेका थिए ।
प्रदीप यादवले मन्त्री बन्न नपाएको झोकमा पार्टी कार्यालयमै आन्दोलन गराएका थिए । त्यसरी आन्दोलन गरेको कारण उनी केही दिनका लागि कारवाहीमा परेका थिए । अहिले उनको कारवाही फिर्ता भएको छ ।
राष्ट्रिय सभाका सदस्य मृगेन्द्रसिंह यादव पनि मन्त्री नबनाएको भन्दै अध्यक्ष यादवप्रति रुष्ट भएर बसेका थिए । अघिल्लो पटक ६ महिनाका लागि चार जनालाई पठाउने र ६ महिनापछि अर्को चार जनाको टीम पठाउने निर्णय पार्टीमा भएको थियो । सो निर्णय कार्यान्वयन गराउन मृगेन्द्रसिंह यादवले पटक पटक पार्टीमा आवाज उठाएका थिए । तर त्यसको सुनुवाइ भएको थिएन ।
यता, इस्तियाक राइ पहिलो चरणमै मन्त्री बन्ने लाइनमा थिए । तर उनी मन्त्री बन्न नपाएपछि उपेन्द्र यादवको विपक्षमा उभिएका थिए । उपेन्द्र यादवले पहिलो लटमै प्रमोद साहको नाम मन्त्रीका लागि पठाएका थिए तर अन्तिम समयमा उनको नाम काटेर महिन्द्र राय यादवलाई सरकारमा पठाइएको थियो । त्यतिबेला प्रमोदलाई ६ महिनापछि फेरिने मन्त्रीमण्डलमा पठाउने आश्वासन दिइएको थियो ।
अमृता अग्रहरी पनि मन्त्रीका जबर्जस्त दावेदार हुन् । मन्त्री बन्न नपाएको झोंकमा उनी पछिल्लो समय बाबुराम पक्षमा लागेकी छन् । अहिले उनलाई मन्त्री बनाए उपेन्द्र यादव पक्षतिर आउन सक्ने सम्भावना रहेको एकजना कार्यकारिणी सदस्यले बताए ।