Latest News

काठमाडौंमा भिख माग्न निषेध, यस्तो सूचना निकाल्दै बालेनले गरे नयाँ व्यवस्था

Nepalese Times July 1, 2022 (2 Year ago)    550 Views

काठमाडौं । काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको हो ।

साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने रोक नलगाइने सूचनामा उल्लेख छ ।

साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भीक माग्न वा भीक माग्न दुरुत्साहन नगर्न नगराउन आग्रह गरिएको छ ।

असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि सडकमा भीक माग्न नपाउने भएका छन् । यस्ता व्यक्तिका लागि काठमाण्डौ महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको महानगरले जनाएको छ ।

त्यस्तै महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको पहिलो नगर सभा बैठकले सार्वजनिक शौचालय सञ्चालनका लागि कामपाले ३३ निजी संस्थासँग सम्झौता गरिसकेको छ ।

सर्वसाधारणलाई सहज होस् भनेर कामपाले सम्झौता भएका सबैमा एकै किसिमको चिह्न लगाउने काम गरिरहेको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिए। प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राख्न लागेको हो । चिह्न राखिसकेपछि मात्र सम्झौता भएका संस्थाको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्नेछन् ।

सङ्केत चिह्नमा गोलो घेराभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न रहेको छ । सङ्केत चिह्नको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ । चिन्नकै आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्नसक्ने कामपाले जानकारी दिएको छ । सम्झौताअनुसार करिब २०० शौचालय सञ्चालन आउनेछन् जसमा १०० मा चिन्न लगाइसकेको छ भने अन्यमा पनि जारी छ ।

निर्णयअनुसार सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यावसायिक संस्थासँगको सहकार्य र यसअघिकै कामपामा रहेका ५८ गरी अब कामपामा २५० शौचालय सार्वजनिक रुपमा प्रयोगमा ल्याउन आउन लगिएको पनि कामपाले जानकारी दिएको छ । बैंक, रेष्टुराँ, स्कुल, प्रकाशन गृह, विजनेस कम्प्लेक्स होटलसहित छन् ।

यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा संस्थाकै हुनेछ । यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्याङ्कन गर्न दुवै पक्षबाट एक÷एक जना प्रतिनिधि तोकिएको छ र उनीहरुले हरेक चार महिनामा प्रतिवेदन दिनेछन् ।

प्रतिक्रिया दिनुहोस