Latest News

कांग्रेसको शेखर कोइराला समूहको बैठकले निकाल्यो यस्तो निष्कर्ष

Nepalese Times June 30, 2022 (2 Year ago)    506 Views

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको छ ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसिरहेको कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो । भेलामा सहभागी सहमहामन्त्री जीवन परियारका अनुसार पार्टीमा कुनै सरसरल्लाह नगर्ने र भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा देउवाले एकलौटी गरेका हुन् ।

पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए ।

यस्तै शेखर काेइराला समूहले छुट्टै भेला गरेसँगै नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले असार २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।

केन्द्रीय कार्यालय ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। काँग्रेसले उक्त बैठकका लागि दुई वटा एजेण्डा तय गरेको छ । स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा र विविध गरी दुई एजेण्डा तय गरिएको पौडेलले जानकारी दिए ।

यस्तै नेपाली कांग्रेसले एक्लै चुनावमा जाँदा पनि कमजोर नदेखिएको निष्कर्ष निकालेको छ । उपसभापति पूर्णबहादुर खड्काको संयोजक रहेको स्थानीय तह निर्वाचन परिचालन समितिले आज सार्वजनिक गरेको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।

कांग्रेसले उम्मेदवारी दिएकामध्ये ५२ प्रतिशतमा निर्वाचन जितेको उल्लेख गर्दै प्रतिवेदनमा एक्लै चुनावमा जाँदा पनि कमजोर नदेखिएको निष्कर्ष निकालिएको हो । गठबन्धनका कारण १२१ सिटमा मेयर–अध्यक्ष छाडेर ६३२ तहमा मात्रै उम्मेदवार उठाउँदा १८८ अध्यक्ष र १४१ मेयरसहित ३२९ ठाउँमा जित निकालेको कांग्रेसले जनाएको छ ।

यस्तै २१९ ठाउँमा उपमेयर–उपाध्यक्ष छाडेर ५३४ ठाउँमा मात्रै उम्मेदवारी दिँदा १९० उपाध्यक्ष र ११० उपमेयर गरी ३०० पद जितेको छ । जुन उम्मेदवारी दिएको जम्मा ठाउँको ५६ प्रतिशत हो ।

गठबन्धनका आधारमा मेयर–अध्यक्ष लडेका २०९ मध्ये १२८ स्थानमा जित निस्किएको प्रतिवेदनमा भनिएको छ । जुन ६१ प्रतिशत हो । यस्तै उपमेयर–उपाध्यक्ष पदमा गठबन्धनको सहायतामा लडेको ११५ सिटमध्ये ८५ स्थानमा जितेको कांग्रेसले जनाएको छ । जुन ७४ प्रतिशत हुन आउँछ ।

यस्तै गठबन्धनबिना मेयर तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका ४२३ तहमध्ये २०१ मा जितेको प्रतिवेदनमा उल्लेख छ । जुन ४८ प्रतिशत हुन आउँछ । यस्तै उपमेयररउपाध्यक्ष पदमा उम्मेदवारी दिएका ४१९ तहमध्ये ५२ प्रतिशतमा जित निस्किएको जनाइएको छ । संख्यामा २१५ सिट हो ।

प्रतिक्रिया दिनुहोस