Latest News

वागमती प्रदेशमा नयाँ ट्वीस्टः मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई एमालेको साथ !

Nepalese Times June 30, 2022 (2 Year ago)    892 Views

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद छाड्न नमानेपछि सत्ता गठबन्धनमा खैलाबैला मच्चिएको छ । यसअघि आधा कार्यकाल एकीकृत समाजवादी र आधा कार्यकाल कांग्रेसले नेतृत्व लिने सहमति भएकोमा पाण्डेले सहमति कार्यन्वयन गर्न मानिरहेका छैनन् ।

पाण्डेले मुख्यमन्त्री पद नछाडेपनि नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले पनि हस्ताक्षर संकलन थालेका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेको सहमतिमै हस्ताक्षर संकलन भइरहेको उनले बताएका छन् ।

यसै क्रममा वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्टको सम्भावना बढेको छ । कांग्रेस र माओवादी केन्द्रले मुख्यमन्त्रीविरुद्ध बहुमत सांसदको हस्ताक्षर संकलन गरेर प्रदेश प्रमुख समक्ष जान लागेका बेला प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले नयाँ कार्ड फालेको छ ।

नेकपा एकीकृत समाजवादीलाई पार्टीको मान्यता समेत नदिएको एमालेले सोही पार्टीका मुख्यमन्त्री राजेन्द्र पाण्डेको पद जोगाइदिन सक्ने संकेत गरेको छ । पाण्डेलाई एमालेले साथ दिएमा कांग्रेस र माओवादीले समर्थन फिर्ता लिए पनि उनले विश्वासको मत पाउँनेछन् ।

एमालेसँग प्रदेशसभामा ४१ सांसद छन् भने नेकपा एसका १३ जना छन् । प्रदेशसभामा बहुमतका लागि ५४ सांसद भए पुग्छ, जुन संख्या एमाले र नेकपा एस मिल्दा पुग्छ । सत्ता गठबन्धन फुटाउँनका लागि एमालेले यो कार्ड फाल्न खोजेको छ ।

एमालेका प्रमुख सचेतक दिपक निरौलाले विश्वासको मतका लागि औपचारिक रुपमा मुख्यमन्त्रीले दल समक्ष सहयोग मागेमा आफूहरुले त्यसमा छलफल गर्न सक्ने बताए । सकेसम्म गठबन्धन दलहरु मिलेरै सरकार चलाउँन् भन्ने चाहना एमालेको रहेको निरौलाले बताए ।

स्रोतका अनुसार पाण्डेको सरकार जोगाइदिन एमाले तयार छ । मुख्यमन्त्रीविरुद्ध संविधान बमोजिम अविश्वास प्रस्ताव ल्याउँन नमिल्ने भएकाले कांग्रेसले समर्थन फिर्ता लिएको जानकारी दिएपछि उनी अल्पमतमा पर्नेछन् र विश्वासको मत लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस