Latest News

एकीकृत समाजवादीका मुख्यमन्त्रीले पद छाड्न नमानेपछि कांग्रेसका दाबेदार बानियाँले चाले कडा कदम

Nepalese Times June 30, 2022 (2 Year ago)    481 Views

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद छाड्न नमानेपछि सत्ता गठबन्धनमा खैलाबैला मच्चिएको छ ।

यसअघि आधा कार्यकाल एकीकृत समाजवादी र आधा कार्यकाल कांग्रेसले नेतृत्व लिने सहमति भएकोमा पाण्डेले सहमति कार्यन्वयन गर्न मानिरहेका छैनन् ।

पाण्डेले मुख्यमन्त्री पद नछाडेपनि नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले पनि हस्ताक्षर संकलन थालेका छन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेको सहमतिमै हस्ताक्षर संकलन भइरहेको उनले बताएका छन् ।

प्रेस युनियन महाधिवेशन तयारी सचिवालय अगाडि संक्षिप्त कुराकानी गर्ने क्रममा उनले मुख्यमन्त्री फेर्ने हस्ताक्षर अभियानमा एकीकृत समाजवादीका नेतासमेत रहेका मुख्यमन्त्री पाण्डेको सहमति रहेको बताए।

यो प्रक्रियाअनुसारको क्रिया भएको र पाण्डेको सहमति अनुसार हस्ताक्षर संकलन भइरहेको भन्दै उनले प्रदेश प्रमुख समक्ष बुझाउनका लागि हस्ताक्षर संकलन भइरहेको दाबी गरे।

उनले भने, ‘यो अभियान होइन, प्रक्रिया हो। उहाँ (पाण्डे)ले राजीनामा दिन पनि हस्ताक्षर चाहियो नि ?’ पहिले पाण्डेलाई जसरी मुख्यमन्त्री बनाइएको हो, त्यसरी नै फिर्ता गर्न हस्ताक्षर संकलन थालिएको उनको भनाइ छ।

केही दिनअघि मात्रै कांग्रेसले आधा–आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति पत्र सार्वजनिक गरेको थियो। उक्त सहमतिअनुसार पाण्डेले मुख्यमन्त्री छाड्नुपर्ने दबाब कांग्रेस र माओवादी केन्द्रका नेताहरुको छ।

तर, एकीकृत समाजवादीले भने केन्द्रीय भागबन्डा अन्तर्गत बागमती प्राप्त भएको बताउँदै स्थानीय सहमतिको अर्थ नहुने जनाएको छ। समाजवादीले बागमती गुमाउँदा सुदूरपश्चिम पाउनुपर्ने दाबी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस