Latest News

महामन्त्री जितेपछि गगन थापाले छाडे शेखर कोइरालाको गुट, देउवासँग यसकारण नजिकिँदै

Nepalese Times June 30, 2022 (2 Year ago)    946 Views

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले डा. शेखर कोइरालाको गुट छाडेका छन् । उनी पछिल्लो समय शेखर गुटको भेलामा जान छाडेका छन् । आज वत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको शेखर गुटको भेलामा पनि गगन देखिएनन् ।

थापा शेखर कोइरालाको समूहबाट महामन्त्री निर्वाचित भएका थिए । तर, पछिल्लो समय उनी बुढानिलकण्ठसँग पनि नजिकिएका छन् ।

गगन थापाले आफ्नै गुट तयार गरेको बुझिएको छ । उनले काँग्रेसभित्रका युवाहरुको ठूलो समूहलाई साथ लिएर सक्रियता बढाएका छन् । थापाले आफू देशको भावी प्रधानमन्त्री बन्ने सन्देश प्रवाह गरिरहेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं ४ बाट दुई पटक निर्वाचित भइसकेका थापा यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन् । युवाहरुको पक्षमा लहर नै आइरहँदा थापाले देशभर काँग्रेसबाट युवाहरुले उम्मेदवार बन्ने माहोल तयार गर्न खोजिरहेको बुझिएको छ ।

नेता शेखर कोइराला समूहको छलफलमा मुख्यगरी तीन विषयमाथि छलफल भइरहेको एक नेताले जानकारी दिए । पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गरिने कांग्रेस नेता चन्द्र भण्डारीले बताएका छन् ।

बैठकमा शेखर कोइराला, चन्द्र भण्डारी लगायत नेताहरूको उपस्थिति रहेको छ। उनले आफू निकट काठमाडौंमा उपलब्ध नेता कार्यकर्तालाई भेलामा बोलाएका छन्। अहिलेसम्म नेता कोइराला, पूर्वसहमहामन्त्री डा. रामशरण महत, सांसद सञ्जय गौतमलगायतका नेताहरू जम्मा भइसकेका छन् ।

शेखर समूहको अघिल्ला भेलामा नगएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू भने आज देखिएका छन् । भेलामा शेखर समूहका पदाधिकारी, केन्द्रीय सदस्य र सांसदहरूलाई समेत सहभागी गराइँदैछ ।

गत मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन भएको थियो। विधानअनुसार ६ महिनाभित्र कोषाध्यक्ष, केन्द्रीय समिति, कार्यसम्पादन, संसदीय समिति र विभाग गठन गरिनुपर्नेमा कुनै पनि कामलाई सभापति देउवाले पूर्णता दिन नसकेपछि आलोचना भइरहेको छ।

सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई कोषाध्यक्ष मनोनित गर्नुपर्ने हो। तर अहिलेसम्म कोषाध्यक्ष पद रिक्त छ। ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नुपर्नेमा देउवाले १३ जनालाई मात्रै मनोनीत गरेका छन्, उनीहरू सबै सभापति देउवा निकटका हुन्। कांग्रेस केन्द्रीय कार्यसमिति १६९ सदस्यीय हो। सभापतिमा देउवासँग पराजित कोइराला स्वत केन्द्रीय सदस्य छन्।

प्रतिक्रिया दिनुहोस