काठमाठडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपामा) एउटा ‘म्यासेज काण्ड’ भाइरल भएपछि तरंग पैदा भएको छ ।
एउटालाई पठाउन खोजेको म्यासेज झुक्किएर अन्तै पुगेपछि म्यासेज काण्ड भाइरल भएको हो । यसले राप्रपाभित्रको विवाद कुन तहमा पुगेको छ भन्ने थप पुष्टि गरेको छ ।
आन्तरिक विवादलाई लिएर एक नेताले मन मिल्ने अर्का नेतालाई पठाएको म्यासेज झुक्किएर अध्यक्ष राजेन्द्र लिङ्ग्देनकी श्रीमतीको मोबाइलमा पुगेपछि राप्रपामा खैलाबैला नै मच्चिएको हो ।
गत मंसिरमा बसेको राप्रपा केन्द्रीय कार्य समितिको पहिलो बैठकले समान विधारधारा भएका व्यक्ति, पार्टी, धार्मिक संघ, संस्थासँग एकता र सहकार्यका लागि वार्ता गर्न महामन्त्री धवल समशेर राणाको नेतृत्वमा वार्ता समितिसमेत गठन गरेको थियो ।
समितिमा ऋषिबाबु परियार र नेता दिल विकास राभण्डारी सदस्य थिए । तर, समितिमा संयोजक राणाको एकलौटी चल्न थालेपछि हैरान भएका भण्डारी र परियार राजीनामा दिने मनस्थितिमा पुगे ।
केही दिनअघि परियारले पूर्वसांसद सीता लुइंटेललाई आफूले वार्ता समितिबाट राजीनामा दिन लागेको म्यासेज गर्न खोज्दा झुक्किएर अध्यक्ष लिङ्ग्देनकी श्रीमती सीता लिङ्ग्देनलाई पुग्यो ।
लगत्तै लिङ्गदेनको खबर आयो, ‘माननीयज्यू कहाँ हुनुहुन्छ, माइन्युट लिएर आउनु त ।’ त्यसपछि नेताहरु बुद्धिमान तामाङ्ग, धवल समशेरसहित बसेर लिङ्गदेनले वार्ता समिति नै भंग गरिदिए ।
अबदेखि यो वार्ता समिति विघटन भन्नुपर्नेमा विसर्जन गरिएको छ भन्ने माइन्युट गरेर दिलविकासलाई अपमानजनक ढंगले निकालिएको राप्रपा स्रोतको भनाइ छ । स्रोतका अनुसार राप्रपामा आउन चाहेका लेनिन बिष्टको पूर्व बालसेना समूह, पशुपति खड्का, कमल थापाको राप्रपा नेपाल र चुरे भावरका नेताहरु महामन्त्री राणाकै कारण रोकिएका हुन् ।
त्यस्तै, अभियन्ता बनेर चर्का भाषण गर्दै हिंडिरहेका ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र शाही’लाई पनि राप्रपामा भित्र्याउन हुँदैन भन्ने मत थियो राणाको ।
नेपालगन्जमा भाषण गर्न जाँदा शाहीलाई कुटाई खानबाट आफूले बचाएकाले उनीजस्ता अराजकलाई पार्टीमा ल्याउन हुँदैन भन्ने राणाको अडान थियो ।
त्यसका बाबजुद वार्ता समिति सदस्य राजभण्डारीको जोडबलमा शाही राप्रपामा छिरेको स्रोत बताउँछ ।
अहिले उनै राजभण्डारी र परियारलाई ‘तह लगाउन’ वार्ता समिति नै ‘बिसर्जन’ गरिनुमा ‘म्यासेज काण्ड’ ले मुख्य भूमिका खेलेको राप्रपाका नेताहरुले बताउन थालेका छन् ।