Latest News

शेरबहादुर देउवा खुसी हुनेगरी वामदेव गौतमले गरिदिए यस्तो खुलासा

Nepalese Times June 28, 2022 (1 Year ago)    750 Views

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एकता अथवा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् भने काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने बताएका छन् । बहुमत नल्याए पनि काँग्रेस पहिलो शक्ति बन्ने स्पष्ट रहेको उनको भनाइ छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गौतमले एकता अथवा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् कांग्रेसले बहुमत ल्याएर छाड्ने बताए । उनले भने, ‘एकता अथवा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् भने सबैभन्दा ठूलो पार्टीका रुपमा प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेसस्थापित हुनेछ ।’

त्यसको ५ वर्षसम्म नेपाली काँग्रेसकै नेतृत्वमा काँग्रेसको संरचनाहरु रहने भन्दै उनले त्यसपछि काँग्रेसलाई दोस्रो निर्वाचनमा गठबन्धनको आवश्यकता नपर्ने बताए । आफूले यो सबै अनुमान गरेर अहिलेको स्थितिलाई परिवर्तन गर्न कम्युनिस्ट एकताका लागि अभियान थालेको बताए ।​

यसअघि पनि गौतमले स्थानीय तहको निर्वाचनबाट कांग्रेस बलियो पार्टीको रुपमा स्थापित भएको भन्दै अहिलेको गठबन्धन कायमै रहे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि झन् बलियो हुने बताएका थिए ।

उनले यो गठबन्धन अनुसार पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल वा उपेन्द्र यादवको नेतृत्वमा नभई देउवाकै नेतृत्वमा निर्वाचन हुने बताए। शनिबार आयोजित एकता अभियानको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने र पाँच वर्ष चल्ने बताएका हुन्।

त्यसरी पाँच वर्ष सरकार चलिसकेपछि कांग्रेसलाई कुनै गठबन्धन नचाहिने गौतमको भनाइ छ। ‘त्यसपछि कम्युनिस्ट पार्टीहरुले कांग्रेसलाई अहिले जसैगरी बोक्छौं भने पनि उसले मान्नेछैन,’ उनले भने।

त्यसपछि भने कम्युनिस्ट पार्टीहरु कमजोर हुने गौतमको टिप्पणी छ। ‘कांग्रेस अझ बढी शक्तिशाली भएर देखापर्ने हो। त्यसले कम्युनिस्टहरुलाई खेलाउने हुन्छ,’ उनले भने, ‘खेल्दाखेल्दै सानो नानी भएर कम्युनिस्ट पार्टी भूइँबाट माथि उठ्नै नसक्ने अवस्थामा पुगेर सिद्धिन्छन्।’

गौतमले नेपालका कम्युनिस्टहरू ओरालो लाग्दै गएर भारतको कम्युनिस्ट आन्दोलनको अवस्थामा पुग्ने चेतावनी दिए। ‘एकपटक नेपालको कम्युनिस्ट आन्दोलन त्यस्तो अवस्थामा पुग्यो भने माथि उठ्का लागि युगौं लाग्न सक्छ’, गौतमले भने।

प्रतिक्रिया दिनुहोस