Latest News

यी हुन् वामदेवको नयाँ पार्टीका ८ सचिवालय सदस्य (नामावलीसहित)

Nepalese Times June 28, 2022 (1 Year ago)    596 Views

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीको सचिवालयमा ८ जना रहने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गौतमले नयाँ पार्टीसहित सचिवालय गठनबारे जानकारी दिएका हुन् ।

सचिवालयमा गौतमसहित डीबी कार्की, ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन् ।

यस्तै पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहेको छ भने दैनिक पार्टी सञ्चालनका लागि स्थायी कमिटी निर्माण हुनेछ । जसमा १५ जना नबढ्नेगरी सदस्यहरु हुने गौतमले जानकारी दिए ।

नयाँ पार्टीमा एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी बहन गर्नेगरी ७ उपाध्यक्ष, संगठनात्मक संगठनात्मक कामको मुख्य जिम्मेवारी पुरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिने गौतमको भनाइ छ ।

पार्टीले सबै कम्युनिस्ट पार्टीलाई एकढिक्का बनाउन लक्ष्य लिएको छ भने त्यसका लागि ३ महिने अभियान सञ्चालन गर्ने गौतमले बताएका छन् ।

एकीकरणको भूमिका निर्वाह गर्दासम्म पार्टीका सम्पूर्ण ढाँचा समन्वय समितिका रुपमा रहने गौतमको भनाइ छ । त्यस्तो अवस्थामा हरेक कमिटीका प्रमुख पदमा संयोजक र सचिवको व्यवस्था गरिने उनको भनाइ छ ।

यस्तै्र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतममाथि नयाँ पार्टी नबन्दै परिवारबादको आरोप लागेको छ ।

नयाँ पार्टीमा आफ्नो श्रीमती र छोरालाईसमेत केन्द्रीय सदस्य बनाएको भन्दै पत्रकार सम्मेलनअघिदेखि नै उनको आलोचना सुरु भएको थियो । उनले पार्टीमा परिवारबाद हाबी गरेको भन्दै विरोध भइरहेको थियो ।

काठमाडौंमा भएको पत्रकार सम्मेलनमा उनले आफ्नो परिवारका सदस्यले राजनीतिमा लाग्न पाउने स्वतन्त्रता रहेको बताए । लोकतन्त्रमा आफू राजनीतिक दलमा लागेर देशको अवस्था फेर्छु भन्छ भने त्यसमा परिवारबादको कुरा नआउने बताए ।

उनको नयाँ पार्टीमा उनकी श्रीमती तुलसा थापा र छोरा हरिषदेव गौतम अटाएका छन् । थापा नेकपा एमालेकी सांसद रहेकी थिइन् । गौतमले एमाले परित्याग गर्दा थापा भने एमालेमै बसेकी थिइन् ।

‘पार्टीमा हुनुहुन्छ मेरो श्रीमती र छोरा । तर मेरो परिवार कम्युनिष्ट आन्दोलनमा छ’, उनले भने, ‘मेरो, आमा, भाइबैनी सबै जति छन् मेरा सन्तान ती सबै आन्दोलनमा लागेका छन् । आज होइन कठिन परिस्थितिमा आन्दोलनमा थिए ।’

प्रतिक्रिया दिनुहोस