Latest News

घनश्याम भूसालपछि एमालेले गर्यो अर्का नेतालाई पनि कारबाही

Nepalese Times June 28, 2022 (1 Year ago)    473 Views

काठमाडौं । नेकपा एमाले कैलाली जिल्ला कमिटी अध्यक्ष रतन थापा पार्टीबाट निष्कासित भएका छन्। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीकै उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै यसअघि थापालाई स्पष्टीकरण सोधिएको थियो।

एमाले कैलालीका इन्चार्ज नारदमुनि रानाले सोधेको २३ बुँदे स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नदिएपछि अध्यक्ष थापालाई निष्काशित गरिएको हो। थापाले एमालेको विधानको धारा ८० अन्तर्गत उपधारा १, २, ३, ४, ५, ६ र १२ उलंघन गरेको ठहर प्रदेश कमिटीले गरेको छ।

थापालाई जिल्ला सचिवालयको निर्णय, जिल्ला इन्चार्ज रानाको सिफारिस, केन्द्रीय सदस्यहरुको रायका आधारमा अध्यक्ष पदबाट निष्काशित गर्ने निर्णय भएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठकले बताएका छन्।

उनलाई जिल्लाको सिफारिस अनुसार एमाले सुदूरपश्चिम कमिटीले पार्टीबाट निष्काशित गरेको हो। एमाले प्रदेश कमिटी सचिव पाठकका अनुसार थापालाई निष्काशित गरिएपछि उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय भएको छ। अब साउन १५ भित्र एमालेले नयाँ अध्यक्ष चुन्ने भएको छ।

उनलाई असार ७ मा सोधिएको स्पष्टीकरणमा आफ्नै बसोबास रहेको लम्की चुहा नगरपालिकाको प्रमुख पदका उम्मेदवार महादेव बजगाईं र उपप्रमुख पदका उम्मेदवार जुना चौधरीसहित वडाअध्यक्षलाई हराउने योजना बनाई अन्तर्घात गरेको आरोप लगाइएको छ।

‘तपाईंको बसोबास रहेको लम्कीचुहा नगरपालिकामा वैशाख ३० गते भएको निर्वाचनमा तपाईंले प्रमुख पदका उमेदवार महादेव बजगाईं र उपप्रमुख पदका उमेदवार जुना चौधरीसहित केही वडाअध्यक्षहरूलाई हराउने योजना बनाई अन्तर्घात गरेको भन्ने लम्कीचुहा नगरपालिका निर्वाचन परिचालन मूल समितिको गत जेठ २२ गतेको समीक्षा बैठकको निर्णय, प्रतिवेदन र घोडाघोडी नगरपालिका निर्वाचन मूल परिचालन समितिको जेठ २२ गतेको समीक्षाको निर्णय र नोटको आधारमा तपाईँमाथि थुप्रै आशंका उठेकाले यस सम्बन्धमा तपाईंको भनाई के हो? तपाईंले निर्वाचनमा असहयोग, अन्तर्घात गरेको हो होइन? उक्त प्रतिवेदनहरूबाट केही गम्भीर सवालहरू उठेकाले निम्न प्रश्नहरूको तपाईंले सन्तोषजनक जवाफ ३ दिनभित्र जिल्ला पार्टी कार्यालयलाई उपलब्ध गराई दिन निर्देशित गरिन्छ,’ अध्यक्ष थापालाई सोधिएको स्पष्टीकरणमा भनिएको थियो।

दैनिक रुपमा पार्टी सञ्चालन नगरेको, अध्यक्ष ओलीलाई ‘अपुतो’ जस्तो तुच्छ शब्द बोलेको, जिल्ला निर्वाचन मूल परिचालन समितिको एउटा पनि बैठक नगरेको, कुनैपनि पालिकास्तरीय चुनावी योजना र चुनावी अभियान नबनाएको, एमालेले एक सिट पनि जित्दैन ‘फिक्स’ हो भनेर कु-प्रचार गरेको, एमालेबाट उम्मेदवार बनेका लम्की चुहाका महादेव बजगाईं र जुना चौधरी र घोडाघोडी नगर प्रमुखका उम्मेदवार ममताप्रसाद चौधरीलाई जसरी पनि हराउँछु भनेर अभिव्यक्ति दिएको लगायत आरोप थापामाथि लगाइएको थियो।

प्रतिक्रिया दिनुहोस