Latest News

देउवा सरकारका अर्का मन्त्रीले पनि मच्चाए काण्ड, को–कोसँग मागे यति धेरै रकम ?

Nepalese Times June 28, 2022 (1 Year ago)    2205 Views

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीको ऐन नियम बिपरीतका काम गर्न दिने गरेको दबाब र घुसखोरीका कारण मन्त्रालयका कर्मचारीहरु आतंकित छन् ।

मन्त्री भएको छोटो समयमा ३ वटा सचिव परिवर्तन गरी कीर्तिमान कायम गरेका चौधरीको कर्मचारीसँगको सम्बन्ध भनेकै लेनदेनमा आधारित रहेको छ ।

खानेपानीमा जनताको पहुँच विस्तार र सुधार भन्दा पनि आफूलाई कति लाभ हुन्छ र कसले कति बढी नगद दिन्छ त्यही आधारमा उनले कर्मचारीको जिम्मेवारी निर्धारण गर्दै आएको स्रोत बताउँछ ।

कुनै दिन खानेपानी मन्त्रीको आतंक पनि सार्वजनिक नहोला भन्न सकिंदैन । कर्मचारी उकुसमुकुसको अवस्थामा पुगिसकेका छन्, बिष्फोट हुनमात्र बाँकी छ, खानेपानी मन्त्रालयका एक पीडित कर्मचारीले बताए ।

सचिवालयमा अनावश्यक कर्मचारीको ताँती लगाउनेदेखि तेल, गाडी, भ्रमण आदेश (टीओ)को आतंक एकातिर छँदैछ, अर्कोतिर मातहतका कर्मचारीहरुसँग कहिले पार्टीको जिल्ला अधिवेशन, महाधिवेशनका नाममा त कहिले स्थानीय तहको चुनावका नाममा विभागीय र कार्यालय प्रमुखसँग रकम मागेर हैरान पार्दै आएका छन् ।

सरुवाका लागि त रकमको लिलाम बढाबढ सामान्य जस्तै भएको मन्त्रालयका एक कर्मचारीले बताए । एक महिनादेखि २ महिनाको बीचमा पैसा माग्ने, नदिए फेरि सरुवा गर्ने, जिम्मेवारी परिर्वतन गर्ने र त्यति पनि नभए मन्त्रालयमा जगेडामा राख्ने धम्की कर्मचारीले बेहोर्नु सामान्य जस्तै भइसकेको छ ।

आकर्षक कार्यालयमा बस्नेहरुलाई त मन्त्रीले मागेको रकम दिन सहज होला, तर कोही जानै नमानेको ठाउँमा सरुवा मागेर जाँदा पनि मन्त्री र मन्त्रीका आसेपासेलाई खुसी नबनाई संभव नहुने गरेको कर्मचारीहरुको पीडा छ ।

मन्त्रालयका कर्मचारीहरु त यतिसम्म मन्त्री मन्त्रालयमा नआइदिए हुन्थ्यो भन्ने कामना समेत गरेर बस्ने गरेका छन् । मन्त्री आएपछि उनको हप्कीदप्की र नाजायज माग पूरा गर्न कार्यकक्षमा हाजिर हुनुभन्दा मन्त्री नआएकै जाति भन्नेसम्मको अवस्थामा कर्मचारी पुगेका छन् ।

मन्त्रीकै सचिवालयका एक कर्मचारीले भने–सचिवालय नै समन्वयमा चलेको छैन, बाँकी मन्त्रालय र कार्यालयको अवस्था आफैं बुझ्नुहोला कसरी चलेको होला ?

मन्त्री मन्त्रालयको अभिभावकीय जिम्मेवारीमा रहनुपर्ने र कार्यालय सहयोगीदेखि सचिवसम्मको सुखदुखको साथी पनि हो । तर खानेपानी मन्त्री चौधरीको हकमा यो लागू हुँदैन । आफूबाहेक सबैसँग लाभकै आधारमा ब्यवहार गर्ने उनलाई लगाम कसले लगाउने ?

प्रतिक्रिया दिनुहोस