Latest News

प्रचण्ड, माधव र उपेन्द्रको गोप्य सहमति बाहिरियो, तनावमा देउवा

Nepalese Times June 28, 2022 (2 Year ago)    699 Views

काठमाडौं । आउँदो संसदीय चुनावमा सत्ता गठबन्धन के होला भन्ने आम चासो रहेको छ । कांग्रेसबाहेक दलका कतिपय नेताले फेरि पनि वाम एकता गरेर अघि बढ्नुपर्ने सल्लाह दिइरहेका छन् भने कतिपयले यहि गठबन्धनको निरन्तरतालाई जोड दिइरहेका छन् ।

दुबै धारबाट बहस चलिरहँदा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस बाहेकका दलहरुले छुट्टै चुनावी मोर्चाको तयारी गरेसँगै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा फेरि तनावमा परेका छन् ।

आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा कांग्रेससँग तालमेल हुनसक्ने बाहेकका निर्वाचन क्षेत्रमा छुट्टै गठबन्धन बनाउने गरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुले एक सातायता ‘घनिभूत’ छलफल गरेका छन् ।

सबै निर्वाचन क्षेत्रमा कांग्रेससँग तालमेल हुन नसक्ने भएकाले छुट्टै गठबन्धनको तयारी थालिएको एक नेताले खुलासा गरेका छन् । गठबन्धन गर्दा परिणाम आफूहरुको पक्षमा आउँछ भन्ने स्थानीय तहको निर्वाचनबाट पनि पुष्टि भइसकेको भन्दै छलफलमा सहभागी जसपाका एक नेताले भने, ‘त्यसैले १६५ निर्वाचन क्षेत्रमै गठबन्धन गरेर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।

कांग्रेससँग शीर्ष नेताहरुले प्रतिस्पर्धा गर्ने २० देखि २५ सिटमा मात्रै तालमेल हुन सक्ने नेताहरुले बताएका छन् । त्यसैले निर्वाचनको संघारमै पुगेर गठबन्धन गर्ने या नगर्ने, कति पदमा गठबन्धन गर्ने भनेर माथापच्ची गर्नुभन्दा अहिले नै सहमति गरेर अघि बढ्नु उचित हुने भएकाले कांग्रेसबाहेक पनि गठबन्धन बनाउन लागिएको छलफलमा सहभागी अर्का एक नेताले बताए ।

ती नेताका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका दोस्रो तहका नेताहरुले तयार पारेको गठबन्धनको प्रस्तावित खाकालाई शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् । त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच दिनहुँजसो छलफल भइरहेको छ ।

जसपा अध्यक्ष यादवले नयाँ गठबन्धन बनाउने विषयमा छलफल भइरहेको पुष्टि गरे । यद्यपि कांग्रेससँगको गठबन्धन यथावत राख्नेगरी नै छलफल अघि बढिरहेको उनको भनाइ छ ।

नयाँ गठबन्धन बनाउने तयारी गरिरहेका दलका एक शीर्ष नेताका अनुसार तीन पार्टीबीच हुने गठबन्धनको प्रस्तावित नाम लेफ्ट डेमोक्रयाटिक अलायन्स (वाम–लोकतान्त्रिक गठबन्धन) राखिएको छ ।

प्रतिक्रिया दिनुहोस