Latest News

गगन थापाको राजनीतिक ‘करिअर’ नै धरापमा पर्नेगरी झलनाथ खनालले किन ल्याए यस्तो प्रमाण ?

Nepalese Times June 27, 2022 (2 Year ago)    668 Views

काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले कांग्रेस महामन्त्री गगन थापामाथि कडा टिप्पणी गरेका छन्।

‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयमा ललितपुरको जावलाखेलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै खनालले अमेरिकी सेना नेपालमा आयो भने ‘चार पाटा मुडेर निकाल्नु’ भन्नेहरु कहाँ छन्?’ भन्दै प्रश्न गरेका हुन्।

प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित हुँदा थापाले ‘अमेरिकी सेना नेपालमा आएमा आफ्नो चार पाटा मुडियोस्, नागरिकता खोसियोस्’ भनेका थिए।

थापाको त्यही भनाइलाई लक्षित गर्दै खनालले भने,‘एमसीसी पास भयो भने अमेरिकी सेनाले नेपालको पहाडमा परेड खेल्छन् भन्दा त्यस्तो कहाँ लेखेको छ भनेर भाषण गरे कतिपयले, कतिपयले मलाई चार पाटा मुडेर सहरबाट निकाल्नु भनेका थिए, आज चार पाटा मुडियोस् भन्ने विद्वान कहाँ छन्?’

उनले यो विषय संसदमा पुगेर सोध्न बाँकी रहेको पनि बताए। उनले आफूहरुको सुझबुझका कारण एसपीपी रोकिएको पनि बताए। ‘एसपीपी सम्झौता अहिलेलाई रोकियो,’ खनालले भने, ‘नेपालको पहाडमा अमेरिकी सेना परेड खेल्न रोकिएकोमा हाम्रा नेताहरूलाई धन्यवाद दिन्छु।’

त्यस्तै सम्मानित नेता झलनाथ खनालले अबका कुनै पनि प्रधानमन्त्रीले खड्गप्रसाद ओलीको बाटो हिँड्न नसक्ने बताएका छन्।

‘अब कुनै प्रधानमन्त्री पनि खड्ग प्रसाद ओलीको बाटो हिँड्न सक्दैन। हामीले संविधान बचायौँ,’ उनले भने, ‘कम्युनिस्ट सरकारले पनि नयाँ उद्योग खोल्न सकेन, उद्योग निजीकरण गरिदियौँ, राजा महेन्द्रको पालामा जति पनि गर्न सकेनौँ, के हुन् त हाम्रा राष्ट्रिय उद्योग? राष्ट्रिय उद्योग कल्पना गर्न सकेनौँ, बनाउन त परै जाओस्।’

समाजवादका लागि मिलेर जाने खण्डमा फरक विचारको कांग्रेसलाई पनि स्वागत गर्न सकिने उनले बताए। ‘कहिलेसम्म त कांग्रेस पनि समाजवादकै लागि मिलेर जाने हो भने त स्वगत छौँ,’ उनले भने, ‘नत्र जो जो तयार छौँ मिलेर जानुपर्यो। समाजवाद युगले मागेको हो।’

गठबन्धन सरकार बनेदेखि नै राष्ट्रियता समस्यामा परेको उनले बताए। ‘गठबन्धन सरकार बनेदेखि राष्ट्रियता समस्यामा पर्‍यो,’ उनले भने, ‘राजदूत नियुक्ति, फटाफट प्रधानमन्त्रीले तीनवटा देशको गर्नु भयो तर चीनको त छैन भारत र चीनको बीचमा हामी छौँ,’

युक्रेन घटनाबारे गठबन्धनमा छलफल नभएको भन्दै उनले आपत्ति जनाए। ‘गठबन्धनतिर छलफल छैन, हामी पछुवामात्र भयौँ, वक्तब्य कसरी दिने, संयुक्त सरकारमा छलफल भएन,’ खनालले भने, ‘अमेरिकीले युक्रेन घटनामा भोट हाल्न लगायो दनादन भोट हाल्यौँ।’

प्रतिक्रिया दिनुहोस