Latest News

हिजो डाँको छाडेर रुने झाँक्रीले आज यसो पो भन्न थालिन्

Nepalese Times June 27, 2022 (2 Year ago)    605 Views

काठमाडौं । शहरी विकास मन्त्रालयले आइतबार आयोजना गरेको बिदाइ कार्यक्रममा रामकुमारी झाँक्री भावविह्वल हुँदै रोएकी थिइन् । उनले पटक-पटक आँसु लुकाउने प्रयास गरे पनि असफल भएकी थिइन् ।

यसबारेमा सामाजिक सञ्जालमा आलोचना र टिप्पणीहरू भएपछि झाँक्रीले प्रतिक्रिया दिएकी छन् । उनले ट्विटरमा आएका टिप्पणीको जवाफ दिँदै आफ्नै अगाडि प्रशंसा भएपछि भावविह्वल भएको प्रतिक्रिया दिएकी छन् ।

‘मान्छेका केही लुकाउन नसक्ने कमजोरी हुने रहेछन् । जब मेरो मन्त्रालयको निमित्त सचिवले बिदाइ कार्यक्रममा मैले गरेका कामको फ़ेहरिस्त सार्वजनिक गर्दै हुनुहुन्यो, आफ्नो बारे आफ्नै अगाडि यसरी क्रेडिट दिँदा भावविह्रल भएँ,’ उनले लेखेकी छन् ।

उनले अगाडि लेखेकी छन्, ‘मैले त्यसबेला आफूलाई नियन्त्रण गर्न सकिनँ, सरी ।’ त्यस्तै निवर्तमान सहरी विकासमन्त्री झाँक्रीले नवनियुक्त मन्त्री मेटमणि चौधरीलाई कार्यकाल सफलताको शुभकामना दिएकी छन्।

उनले सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत् नवनियुक्त सहरी विकासमन्त्री चौधरीलाई कार्यकाल सफलताको शुभकामना दिएकी हुन्।

नेकपा एकीकृत समाजवादीकी सचिव झाँक्रीले मन्त्री हुँदा अगाडि बढाएका योजनाहरुलाई नवनियुक्त मन्त्रीले निरन्तरता दिनेमा आफू ढुक्क रहेको पनि उल्लेख गरेकी छन्।

‘नवनियुक्त मन्त्रीजीले मैले नीतिगत रुपमा अगाडि बढाएका विषयलाई निरन्तरता दिनु नै हुनेछ भन्नेमा ढुक्क छु,’ उनले लेखेकी छन्, ‘साथै माननीय मन्त्री मेटमणि चौधरीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।’

राज्यका अंगहरूका प्रमुखहरुसँग सार्वजनिक सरोकारका विषयहरूमा पटकपटक परामर्श गरेर इमानका साथ जनताको भलो चिताएर शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएको झाँक्रीको भनाइ छ।

‘त्यसका परिणामहरू आइरहेका छन्, आइरहने छन्,’ उनले लेखेकी छन्, ‘मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपार्चर हो भन्नेमा दुई मत छैन।’

प्रतिक्रिया दिनुहोस