Latest News

यस्ता छन् नयाँ मन्त्रीहरूले गरेका महत्वपूर्ण निर्णयहरू

Nepalese Times June 27, 2022 (1 Year ago)    425 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका तर्फबाट नियुक्त नयाँ मन्त्रीहरूले सोमबार पद तथा गोपनियताको सपथपछि पदभार ग्रहणसँगै लिएसँगै आफ्ना कार्ययोजनाहरू सार्वजनिक गरेका छन्।

पदभार ग्रहण गर्न पुगेका केही मन्त्रीले पहिलो निर्णयमा हस्ताक्षर गरे भने केहीले आफूले अब गर्ने कामबारे जानकारी दिए। नेकपा एकीकृतले आइतबार फिर्ता गरेका चार मन्त्रीको ठाउँमा नयाँ मन्त्री पठाएको हो।

एकीकृत समाजवादीका तर्फबाट नयाँ नियुक्त मन्त्रीमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानीप्रसाद खापुङ र शेरबहादुर कुँवर छन्। खापुङ निवर्तमान स्वस्थ्य राज्यमन्त्री हुन्। उनी स्वस्थ्यमन्त्रीमा बढुवा भएका छन्

स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी हिरा केसीलाई दिइएको छ। त्यसैगरी श्रेष्ठलाई पर्यटन तथा नागरिक उड्ययन, चौधरीलाई शहरी विकास, र कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ।

पर्यटन क्षेत्र उकास्ने कार्ययोजना बनाउन समिति
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री श्रेष्ठले मन्त्रालयको पदभार ग्रहण गर्दै दुई वटा निर्णयमा हस्ताक्षर गरेका छन्। उनले कोभिड–१९ को महामारीले थला पारेको पर्यटन क्षेत्रलाई उकास्ने कार्ययोजना ल्याउन एक समिति गठन गरेको बताएका छन्।

उनले गरेको निर्णयमा भनिएको छ, ‘कोभिड १९को महामारीले पर्यटन क्षेत्रमा पारेको असर र प्रभावबारे गरिएका अध्ययन प्रतिवेदनहरूलाई अध्ययन गरेर कार्यान्वयनमा ल्याउनका लागि कार्ययोजना बनाएर सात दिनभित्र बुझाउन एक समितीको गठन गरिएको छ। जसमा निजी क्षेत्रका विज्ञहरूको पनि प्रतिनिधित्व रहेको छ।’

त्यस्तै, सांस्कृतिक सम्पदा पदमार्गका लागि अध्ययन गर्न हनुमानढोकादेखि स्वयम्भुसम्मको सम्पदा मार्ग निर्माण गरिने निर्णयमा पनि हस्ताक्षर गरेका छन्। काठमाडौं उपत्यकाका विभिन्न संस्कृतिक सम्पदाहरूबीच सांस्कृतिक पदमार्ग निर्माण गरिने र पदमार्गबाट यो वर्ष हनुमानढोका र स्वयम्भु जोडिने उनले गरेको निर्णयमा उल्लेख छ।

नयाँ शहरी नीति मन्त्रिपरिषद्‍मा लैजाने
शहरी विकासमन्त्री मेटमणि चौधरीले ‘शहरी नीति २०६४’ लाई संशोधनका लागी तयार गरिएको नयाँ नीतिलाई अन्तिम रुप दिने पहिलो निर्णय गरेका छन्। सोमबार पदभार ग्रहण गर्दै चौधरीले संघीयतापछि यसको लक्ष्य, उद्देश्यमा थप व्याख्या र स्पष्ट हुनु पर्ने भएकोले उक्त नीति यथाशक्य मन्त्री परीषद्मा लाने बताए।

निर्वतमान मन्त्री रामकुमारी झाँक्रीले गठन गरेको कार्यदलले उक्त नीतिको मस्यौदा निर्माण गरिरहेको छ। मन्त्री चौधरीले पूर्वमन्त्रीहरूसँगको सल्लाहमा आफूले काम गर्ने बताए। उनले गरेको पहिलो निर्णयमा भनिएको छ, ‘प्रस्तावित शहरी नीति २०७९ लाई अन्तिमरुप दिएर १५ दिनभित्र मन्त्रिपरिषद्मा लाने गरी राष्ट्रिय शहरी नीति २०६४ लाई संशोधन गरी प्रस्तावित नीति २०७९ राखिएको छ। यसले केही दूरदृष्टि सहितका लक्ष्य राखेको छ। संशोधन गर्ने मुख्य लक्ष्य भनकोे संघीयताको कार्यान्वयनपछि विभिन्न स्रोतहरू परिचालन गर्नु पर्ने, सहकार्य बढाउनु पर्ने र अन्तराष्ट्रिय सहयोगमा सकारात्मक प्रतिबद्धतामा जनाउनु पर्ने लगायतका उद्देश्य रहेको मस्यौदा तयार हुँदै छ।’

स्वास्थ्य सेवाप्रवाहमा रहेका कमजोरी सच्याउने
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले स्वास्थ्य क्षेत्रमा रहेका कमजोरीलाई सच्याएर अघि बढ्ने बताएका छन्। सोमबार पदभार ग्रहण गर्दै मन्त्री खापुङले स्वास्थ्य मन्त्रालयको संरचना ठूलो भएकाले चुस्त बनाउन आफूले पहिलो ध्यान दिने बताए।

मन्त्रालयले राखेको निर्वतमान मन्त्री विरोध खतिवडाको बिदाई तथा नयाँ मन्त्रीको स्वागत कार्यक्रममा बाल्दै मन्त्री खापुङले भने ‘हामीले गर्ने सेवा प्रवाहमा रहेको कमिकमजोरी र त्रुटिलाई सच्चाएर जानुपर्छ। जनताले सहजरुपमा सेवा पाउनु पर्छ।’ नियतवश कसैलै जनतालाई सेवा प्रवाह पुर्‍याउन ढिला गरेमा त्यसविरूद्ध एक ढिक्का भएर लाग्नुपर्ने पनि उनले बताए।

‘सामाजिक सुरक्षा तथा रोजगारी प्रवर्द्धन परिणाममुखी बनाउँछु’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मिहिन ढङले परिणाममुखी काम गर्ने बताएका छन्। सपथ ग्रहणपछि आयोजित स्वागत कार्यक्रममा मन्त्री कुँवरले भने, ‘मसिनो हिसाबले परिणाममुखी काम गर्छौं। तडकभडक गर्दैनौं।’

सामाजिक सुरक्षा, रोजगारी प्रवर्ध्दनलगायतका श्रम क्षेत्रमा देखिएका समस्या समाधानमा केन्द्रीत हुने योजना रहेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस