काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने देखिएको बताएका छन् ।
शनिबार नेकपा एकता राष्ट्रिय अभियानको कार्यक्रममा बोल्दै सदस्य गौतमले स्थानीय निर्वाचनको नतिजालाई हेर्दा कांग्रेस संघीय र प्रदेश निर्वाचनमा पनि पहिलो पार्टी बन्ने देखिएको बताएका हुन् ।
उनले कांग्रेसको नेतृत्वमा देश विकास हुन नसक्ने पनि दाबी गरे । कांग्रेसलाई नेतृत्व सुम्पिँदा एमसीसीजस्ता कुराले स्थान पाउने भन्दै कम्युनिष्टहरु मिलेर कांग्रेसलाई सँगै लैजानुपर्ने तर कांग्रेसको नेतृत्वमा सरकार बन्न दिनु नहुने बताए ।
उनले नेपाली कांग्रेस पार्टी दलाल, नोकरशाही, पुँजीपति वर्गको पार्टी नभएको पछिल्ला घटनाक्रमले देखाएको बताए ।
गौतमले कांग्रेस पुँजीवादी, सुधारवादी पार्टी हो भन्ने प्रमाणित भइसकेको तर कांग्रेसलाई सरकारको नेतृत्व दिँदा एमसीसीजस्ता सबैकुरा भित्रिने आरोप लगाए । उनले एमसीसीलाई संसदबाट अनुमोदन गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बाध्य पारेको बताए ।
यस्तै, तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड का कारण नेकपा विभाजन भएको आरोप लगाए ।
====