काठमाडौं । स्ताक्षर फिर्ता नलिएका नेकपा एकीकृत समाजवादीका ३ मन्त्री कुनै पनि हालतमा मन्त्री पदबाट नहट्ने अडानमा छन् । श्रममन्त्री किसान श्रेष्ठसहितका ३ मन्त्रीहरु आफूहरुलाई नहटाउन भन्दै प्रधानमन्त्री निवास बालुवाटार धाएका छन् ।
यदि आफूहरुको कुरा नसुनेर नयाँ मन्त्रीहरुलाई सपथ ग्रहण गराइयो भने जस्तोसुकै निर्णय गर्न बाध्य हुने मन्त्री श्रेष्ठ र रामकुमारी झाँक्रीहरुको चेतावनी छ ।
बहालवाला मन्त्रीलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेसँगै फेरि अर्को खबर बाहिरिएको छ । मन्त्री पद जाने वित्तिकै नेकपा एमाले प्रवेशका लागि मन्त्री किसान श्रेष्ठसहितका नेताहरु तयारी अवस्थामा बसेका छन् ।
श्रेष्ठ नेकपा एमाले विभाजित हुँदा अन्तिम समयमा नेकपा एकीकृत समाजवादीतिर लागेका थिए । नेता महेश बस्नेत निकट मानिएका श्रेष्ठ एकीकृत समाजवादीमा प्रवेश गर्नुलाई आश्चर्यको रुपमा हेरिएको थियो ।
गत भदौमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका कारण जसपा र एमाले विभाजित भएको थियो । विभाजनको प्रयोजन सकिएलगत्तै सरकारले उक्त अध्यादेश फिर्ता लिएको थियो ।
मन्त्रीबाट फिर्ता गराउने प्रयासबाट आफूहरू अपमानित भएको बताएका ४ मन्त्रीसहित १० जना सांसदले अध्यक्ष माधव नेपाललाई पत्र लेखेरै असन्तुष्टि व्यक्त गरेका थिए ।
पटक पटक अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै यस्तो व्यवहार कदापी ठीक मान्न नसकिने निष्कर्षसहित मन्त्री किसान श्रेष्ठसहितका केही सांसदहरुले एकीकृत समाजवादी छाड्ने तयारी गरेका हुन् ।
प्रस्ताव गरिएको नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित भएको जनाउँदै त्यसप्रति उनीहरुले गम्भीर असहमती प्रकट गरेका छन् ।
मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ लगायत १० जना सांसदले मन्त्री हेरफेर गर्ने पार्टीको निर्णयप्रति असहमति जनाउँदै हस्ताक्षर बुझाएका थिए । त्यसमध्ये मन्त्री आलेसहितका ६ सांसदले हस्ताक्षर फिर्ता गरेका छन् ।