Latest News

मेटमणी र जीवनरामबाहेक मन्त्रीको अर्को नयाँ लिस्ट बनेपछि नेकपा एसका प्रवक्ताले दिए यस्तो प्रतिक्रिया

Nepalese Times June 25, 2022 (2 Year ago)    534 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको बताएका छन्।

मन्त्री फेर्ने पार्टीको निर्णयलाई चुनौती दिँदै मन्त्री तथा सांसदहरुले सामूहिक रुपमा राखेको सर्तबारे उनले यस्तो प्रतिक्रिया जनाएका हुन्।

‘त्यो सर्त गलत हो। पार्टीसँग यस प्रकारको बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई छैन’, शनिबार बसेको केन्द्रीय कमिटीको बैठकपछि खतिवडाले भने।

मन्त्री तथा सांसदहरुले गत असार ९ मा विभिन्न आठ वटा सर्त राखेर अध्यक्ष माधवकुमार नेपाललाई बुझाएका थिए। उनीहरुले मन्त्रिपरिषद्‌मा आफ्ना सदस्यहरु हेरफेर गर्दा पूरै नयाँ लैजानुपर्ने, समावेशी सिद्धान्त अपनाउनुपर्ने जस्ता सर्त राखेका थिए।

जेठ २२ गते सम्पन्न सचिवालय समितिको बैठकले पार्टीबाट सरकारमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी भवानी खापुङलाई भने स्वास्थ्यमन्त्री बढुवा गर्ने निर्णय गरेको थियो ।

सचिवालय समिति बैठकले जीवनराम श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणी चौधरीलाई शहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सरकारमा सहभागी गराउने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेको महिना दिन पुग्न लाग्दा पनि मन्त्री भने फेरिएका छैनन् । पार्टीले निर्णय गरेतापनि पुराना मन्त्री फिर्ता हुन नमानेपछि नयाँ मन्त्रीले शपथ लिन पाएका छैनन् ।

केन्द्रीय कमिटी बैठकले पनि सचिवालयको निर्णय अनुमोदन गरेपछि अब भने फिर्ता हुन नचाहने मन्त्रीहरुलाई नैतिक दबाब बढेको छ । सम्भवत आजै नभए भोली दिनभरमा एकीकृत समाजवादीका नयाँ मन्त्रीले शपथ लिने एक नेताले बताए ।

मन्त्री फेर्ने सचिवालयको निर्णयलाई केन्द्रीय कमिटीले एकमतका साथ अनुमोदन गरिरहेको बेला चार मन्त्री भने बैठकमा सहभागी छैनन् । पार्टी नेतृत्वलाई समेत जानकारी नदिइ बैठकमा सहभागी नभएका मन्त्रीको खोजी भइहरको छ ।

प्रतिक्रिया दिनुहोस