काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरु सत्ता गठबन्धनमा रहेकामध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रसँग सन्तुष्ट छैनन्
उनीहरु यहि अवस्था रहे सत्ता गठबन्धनसँगको सहकार्य टुटाएर नयाँ ढंगबाट नेकपा एमालेसँग कार्यगत एकता गरेर अघि बढ्नुपर्ने पक्षमा रहेका छन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग कार्यगत एकता गर्ने बताएका छन् । तर, खनालको यो भनाईले अध्यक्ष माधव नेपाल भने तनावमा परेका छन् ।
काठमाडौंको बबरमहलस्थित कार्की व्याक्वेटमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले एमालेभित्र ओली प्रवृत्तिविरुद्ध संघर्ष गरिरहेको समूहसँग कार्यगत एकता गर्ने घोषणा नै गरेका छन् ।
ओली प्रवृत्तिविरुद्ध संघर्ष गर्ने क्रममा पार्टी नै विभाजन भए पनि एमालेभित्र ‘वाम एकता आवश्यक छ’ भन्ने शक्ति रहेको भन्दै नेता खनालले भने– ‘हामीले ओली प्रवृत्तिविरुद्ध विद्रोह गरेका हौं । यसको मतलव एमालेमा रहेका सबै बेठीक भन्ने होइन । एमालेभित्र पनि इमानदार कम्युनिष्ठ नेता कार्यकर्ता छन् । उनीहरुले वाम एकता आवश्यक छ भनिरहेको छन् । त्यसैले उनीहरुसँग आगामी निर्वाचनमा कार्यगत एकता गरेर अघि बढ्न सन्छि ।’
स्थानीय तह निर्वाचनका क्रममा पाँच दलीय गठबन्धन बनेको भए पनि कतिपय ठाउँमा पार्टीले एमालेसँग पनि तालमेल गरेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले आवश्यकताअनुसार सबै शक्तिसँग कार्यगत एकता गर्न सकिने बताए ।
निर्वाचनमार्फत अधिकतम जित हात पार्नका लागि सबैखाले सम्भावनाहरु सदुपयोग गर्नुपर्ने भन्दै नेता खनालले धेरैभन्दा धेरै सिट जित्ने सन्दर्भमा एमालेसँग पनि कार्यगत एकता गर्नका लागि तयार हुनेपर्ने धारणा राखे ।
=====