Latest News

रवि लामिछानेले नयाँ पार्टी खोलेपछि कस्सिइन् रामकुमारी झाँक्री पनि, दिइन् यस्तो प्रतिक्रिया

Nepalese Times June 25, 2022 (2 Year ago)    501 Views

काठमाडौं । नेकपा एकीकृत समावादीले नयाँ मन्त्री पठाउने विषयको चर्चा सेलाउन नपाउँदै मन्त्री रामकुमारी झाँक्री फेरि चर्चामा आएकी छिन् ।

६ महिना पुगिसकेको भन्दै पार्टीले हालका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरे पनि झाँक्रीले उक्त निर्णय कार्यान्वय नगर्न दबाब दिइरहेकी छन्।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफ्नो पार्टीको निर्णय कार्यान्वयन नगराउन दबाब दिइरहेकी छन्।

त्यतिमात्र होइन, बहालबावा मन्त्रीसहित दस जनाले पार्टीको निर्णयविरुद्ध ८ बुँदे ज्ञापन पत्रसमेत बुझाएको थियो। दस जनामध्ये ६ जनाले हस्ताक्षर फिर्ता गरे पनि मन्त्री झाँक्रीले मन्त्रीबाट राजीनामा दिने मुडमा छैनन्। बरु पार्टीविरुद्ध विद्रोह गर्ने संकेत उनले दिएकी छन्।

केही दिनअघि मन्त्री झाँक्रीले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध उनकै निवासमा मन्त्री फेर्ने निर्णय फिर्ता लिन दबाब दिएकी थिइन्। पार्टीप्रति असन्तुष्ट रहेकी उनले महिलाको हक हितमा काम गर्ने पार्टीको नाम इन्टरनेटमा खोजिरहेकी छन्।

शनिबार उनले सामाजिक सञ्जालमार्फत् फिलिपिन्सको ‘द गब्रियला वुमन्स पार्टी’ को सिद्धान्त पढेको उल्लेख गरेकी छन्। उक्त पार्टीले महिला अधिकारको वकालत गर्ने र त्यहाँको सदनमा महिलाको प्रतिनिधित्व गराउने गरेको झाँक्रीले उल्लेख गरेकी छन्।

रवि लामिछानेले स्वतन्त्र नामक पार्टी खोलेपछि उक्त पार्टीको नाम राख्न हुने बहसप्रति उनले भनेकी छन्, ‘केही दिन अघि रवीजीले नेपाल स्वतन्त्र पार्टी नाम राखेर पार्टी खोलेपछि स्वतन्त्र शब्द राखेर पार्टी बनाउन नहुने भन्ने बहस चलिरहेको छ। नाम, प्रगतिशील सिद्धान्त र कार्यक्रम भएका पार्टीहरूको नामको लिस्ट बनाएर गुगल सर्च गरेँ अनि यो तलको पार्टीको नाम भेटेँ, सिद्धान्त पढेपछि मलाई मन पर्‍यो।’

उनले सार्वजनिक बहस गरौं न भन्ने ठानेर रूची हुने साथीहरूको लागि आफूले पोष्ट गरेको प्रतिक्रिया दिएकी छिन् ।


प्रतिक्रिया दिनुहोस