Latest News

कांग्रेस झनै बलियो हुने भयो : वामदेव गौतम

Nepalese Times June 25, 2022 (1 Year ago)    1260 Views

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले स्थानीय तहको निर्वाचनबाट कांग्रेस बलियो पार्टीको रुपमा स्थापित भएको भन्दै अहिलेको गठबन्धन कायमै रहे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि झन् बलियो हुने बताएका छन्।

उनले यो गठबन्धन अनुसार पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल वा उपेन्द्र यादवको नेतृत्वमा नभई देउवाकै नेतृत्वमा निर्वाचन हुने बताए।

शनिबार आयोजित एकता अभियानको राष्ट्रिय भेलामा सम्बोधन गर्दै उनले त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने र पाँच वर्ष चल्ने बताएका हुन्।

त्यसरी पाँच वर्ष सरकार चलिसकेपछि कांग्रेसलाई कुनै गठबन्धन नचाहिने गौतमको भनाइ छ। ‘त्यसपछि कम्युनिस्ट पार्टीहरुले कांग्रेसलाई अहिले जसैगरी बोक्छौं भने पनि उसले मान्नेछैन,’ उनले भने।

त्यसपछि भने कम्युनिस्ट पार्टीहरु कमजोर हुने गौतमको टिप्पणी छ। ‘कांग्रेस अझ बढी शक्तिशाली भएर देखापर्ने हो। त्यसले कम्युनिस्टहरुलाई खेलाउने हुन्छ,’ उनले भने, ‘खेल्दाखेल्दै सानो नानी भएर कम्युनिस्ट पार्टी भूइँबाट माथि उठ्नै नसक्ने अवस्थामा पुगेर सिद्धिन्छन्।’

गौतमले नेपालका कम्युनिस्टहरू ओरालो लाग्दै गएर भारतको कम्युनिस्ट आन्दोलनको अवस्थामा पुग्ने चेतावनी दिए। ‘एकपटक नेपालको कम्युनिस्ट आन्दोलन त्यस्तो अवस्थामा पुग्यो भने माथि उठ्का लागि युगौं लाग्न सक्छ’, गौतमले भने।

प्रतिक्रिया दिनुहोस