Latest News

ह्वात्तै घट्यो पेट्रोल र डिजेलको मूल्य, अब प्रतिलिटर कति ?

Nepalese Times June 25, 2022 (1 Year ago)    482 Views

काठमाडौं । सरकारले पेट्रोलको २० र डिजेलको २८ रुपैयाँ मूल्य घटाउने घोषणा गरेको छ । शनिबार अयोजित आकस्मिक पत्रकार सम्मेलनमा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले मूल्य घटाउने घोषणा गरेका हुन् ।

उनका अनुसार सरकारको निर्णयसँगै पेट्रोलको मूल्य १७९ रुपैयाँ कायम हुने भएको छ । हाल पेट्रोलको मूल्य १९९ रुपैयाँ रहेको छ । यस्तै डिजेलको मूल्य हाल १९२ रुपैयाँ रहेकामा अब २८ रुपैयाँ घटेर १६३ रुपैयाँ कायम गरिएको छ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुनेछ ।

अत्यावश्यक वस्तुहरुको मूल्यको वृद्धिका कारण सर्वसाधारण जनता मारमा गरेको भन्दै मन्त्री बडुले यस संवेदनशील अवस्थाप्रति सरकार गम्भीर र संवेदनशील हुँदै मूल्य घटाइएको बताए ।

नेपाल सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको केही करलाई कटौती गरेर मूल्य घटाउने सहमति भएको उनको भनाइ छ । शनिबार बिहान बसेको शीर्षस्थ नेताहरुको बैठकले मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो ।

बडुका अनुसार सो बैठकमा प्रधानमन्त्रीले शेरबहादुर देउवाले सरकारले लगाउँदै आएको टयाक्सलाई घटाएर भएपनि मूल्य घटाउनु पर्छ भनेर भनेको र सोही अनुसार निर्णय भएर कार्यान्वयन गर्न लागिएको बताए । उनले समग्र मूल्यवृद्धिलाई नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाइने पनि बताए ।

नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ । एक्कासि इन्धनको भाउ बढेपछि सरकारमाथि चौतर्फी दबाब आएको थियो । कर कटौती गरेर भए पनि नागरिकलाई राहत दिन सदनदेखि सडकबाट सरकारलाई दबाब दिने काम भइरहेको छ ।

इन्डियन आयल कर्पोरेसन (आईसोसी) बाट १३१.९१ रुपैयाँमा खरिद गरिएको पेट्रोल सर्वसाधारणले १९९ मा खरिद गर्छन् ।

प्रतिक्रिया दिनुहोस