Latest News

अन्ततः पेट्रोलको मूल्य २० रुपैयाँ घट्ने, डिजेलको कति ?

Nepalese Times June 25, 2022 (1 Year ago)    463 Views

काठमाडौं । सरकारले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य घटाउने तयारी गरेको छ । यस्तै डिजेलमा २८ रुपैयाँ घटाउने तयारी भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा निरन्तर बढिरहेको पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकार सहमत भएको स्रोतले बताएको छ ।

आज राती १२ बजेदेखि नै मूल्य समायोजन गर्ने निगमले तयारी गरेको छ । यससम्बन्धी घोषणा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आज दिउँसो साँढे १२ बजे पत्रकार सम्मेलन गर्दै छ ।

हिजो उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो ।

यस्तै सत्ता गठबन्धनको आज बिहान बसेको बैठकले पनि पेट्रोलियम पदार्थमा लिइँदै आएको करमा छुट दिन सरकारलाई निर्देशन दिएको छ ।

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थमा लिइँदै आएको कर भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

सरकारले उक्त विषयलाई आजै (शनिबार)देखि पेट्रोलियम पदार्थमा लगाएका करहरु कटौती गरि लागू गर्ने मल्लको भनाइ छ। यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणलाई असर पर्न गएको जनाउँदै समितिले तत्कालै करमा ५० प्रतिशत घटाएर जनतालाई राहत दिन निर्देशन दिएको हो ।

समितिअन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले आज आयल निगमका पदाधिकारीसँग छलफल गरेको थियो । छलफलपछि समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई हाल लाग्दै आएको करमा ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।

हाल पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ ६१ पैसा, डिजेलमा ४९ रुपैयाँ ५३ पैसा, मट्टितेलमा १४ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर २५ रुपैयाँ ७५ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ३२० रुपैयाँ ८४ पैसा कर लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस