Latest News

घट्ने भयो पेट्रोलियम पदार्थको मूल्य, देउवासहितको बैठकले गर्यो यस्तो महत्वपूर्ण निर्णय

Nepalese Times June 25, 2022 (2 Year ago)    684 Views

काठमाडौं ।  सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । सत्तारुठ गठबन्धनका नेताहरुको बैठकले पेट्रोलियम पदार्थमा हाल लाग्दै आएको कर कटौती गर्न सरकारलाई ‘निर्देशन दिने’ निर्णय गरको छ।

शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थमा लिइँदै आएको कर भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

सरकारले उक्त विषयलाई आजै (शनिबार)देखि पेट्रोलियम पदार्थमा लगाएका करहरु कटौती गरि लागू गर्ने मल्लको भनाइ छ। उक्त निर्णय लागु गरेमा डिजेल र पेट्रोलको मुल्यमा प्रतिलिटर झण्डै २५ देखि ३० रुपैयाँसम्म कम हुने जनाइएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर २५ देखि ३० रुपैयाँसम्म घटाउने तयारी गरिएको छ ।

यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणलाई असर पर्न गएको जनाउँदै समितिले तत्कालै करमा ५० प्रतिशत घटाएर जनतालाई राहत दिन निर्देशन दिएको हो ।

समितिअन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले आज आयल निगमका पदाधिकारीसँग छलफल गरेको थियो । छलफलपछि समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई हाल लाग्दै आएको करमा ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।

हाल पेट्रोलमा प्रतिलिटर ६५ रुपैयाँ ६१ पैसा, डिजेलमा ४९ रुपैयाँ ५३ पैसा, मट्टितेलमा १४ रुपैयाँ, हवाई इन्धन आन्तरिकमा प्रतिलिटर २५ रुपैयाँ ७५ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ३२० रुपैयाँ ८४ पैसा कर लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस