Latest News

प्रचण्डलाई प्रधानमन्त्री दिन ओली तयार, वामदेवले गरे यस्तो खुलासा

Nepalese Times June 25, 2022 (2 Year ago)    526 Views

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा केपी शर्मा ओलीले पार्टी एकता जोगाउन प्रधानमन्त्री पद छाड्ने अफर पुष्पकमल दाहाल प्रचण्ड समक्ष गरेको खुलासा गरेका छन् ।

शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै गौतमले दुई नेताबीच भएको भेटमा आफू पनि पुगेको र त्यहाँ ओलीले आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने र उनैको नेतृत्वमा निर्वाचनमा जाने अफर गरेको बताएका हुन् ।

गौतमले भने, दुई अध्यक्षबीच भएको बैठकमा म पनि पुगेको थिएँ । त्यहाँ अध्यक्ष ओलीले म पार्टी एकता जोगाउन आएको छु । यसका लागि जे पनि गर्न तयार छु भन्नुभयो । म एउटा पद छाड्न तयार छु । तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन तयार छु । जो व्यक्ति हो वहाँलाई जिताएर राष्ट्रिय सभामा लैजाऔँ र वहाँलाई प्रधानमन्त्रीको उम्मेदवार बनाऔँ । आज नै सचिवालय बैठक बोलाऔँ र पत्रकार सम्मेलन गरेर यसको जानकारी दिऔँ ।

गौतमका अनुसार ओलीले यसका लागि आफूविरुद्ध लगाइएका सङ्गीन आरोप फिर्ता लिन दोस्रो माग अघि सारेका थिए । उनले भने, ‘पहिलो विषयमा नेताहरू बीच धेरै छलफल भएन । वहाँहरू दुवै यसका लागि सहमत देखिनुभयो । तर प्रचण्डले आरोपहरू फिर्ता लिन सक्दिनँ भन्नुभयो । वहाँले आरोपहरू फिर्ता लिनुभएको भए सायद पार्टी एकता जोगिन्थ्यो होला ।’

यस्तै गौतमले आफूले प्रयास गरेको भए पार्टी विभाजन नहुने भन्दै आत्मालोचना गरेका छन्। उनले आफूलाई धेरैजसोले वामदेवका कारण पार्टी विभाजन भएको भनेर आरोप लगाउने गरेको गुनासाे गरे।

‘धेरैजसाेले वामदेवकै कारण विभाजित भयो भने आरोप लाग्यो,’ गौतमले भने, ‘मैले पनि गल्ती गरेकै हो भनेर आजको प्रस्तावमा पनि लेखेको छु। वामदेव लागेको भए पार्टी जोगाउन सकिन्थ्यो भन्नुभयो। यो साँचो हो, म लागेको भए पार्टी विभाजन हुँदैनथ्यो। म आत्मालोचित भएको छु।’

तत्कालीन नेकपाको सचिवालय सदस्यहरुले चाहेको खण्डमा त्यतिबेला नेकपा विभाजित नहुने उनले बताए। ‘यो काम सचिवालयभित्रबाट पार्टी विभाजनअघि नै गर्नुपर्थ्याे, सबैले सक्नुहुन्थ्यो तर गर्नु भएन। मैले पनि गर्न सकिनँ। मैले पार्टी विभाजन हुन्छ भने कल्पनै गरिनँ’, उनले भने।

तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध भएको अविश्वास प्रस्ताव र ओलीले गरेको संसद विघटनका कारण पार्टी विभाजित भएको उनको तर्क छ।

प्रतिक्रिया दिनुहोस