Latest News

मन्त्रिपरिषद् बैठकमै पूर्वराजा ज्ञानेन्द्रबारे यस्तो प्रस्ताव पुगेपछि खैलाबैला, गर्यो महत्वपूर्ण निर्णय

Nepalese Times June 25, 2022 (1 Year ago)    717 Views

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्व राष्ट्रपतिसरह मर्यादाक्रममा राख्ने गृह मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्ले अस्वीकार गरेको छ ।पूर्वराजालाई मर्यादाक्रममा नराखी मन्त्रिपरिषद्ले यससम्बन्धी नयाँ सूची स्वीकृत गरेको छ ।

राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिको मर्यादाक्रम संशोधनसम्बन्धी गृह मन्त्रालयले गत महिना नै प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो ।

जसमा पूर्वराजालाई मर्यादाक्रमको छैटौँ स्थानमा राख्ने गृहको प्रस्ताव थियो । तर, पूर्वराजालाई पूर्वराष्ट्रपतिकै हैसियतबराबरको मर्यादाक्रममा राख्दा विवाद हुन सक्ने भएकाले हटाइएको मन्त्रिपरिषद् स्रोतले बतायो ।

मन्त्रिपरिषद्ले स्वीकृत गरी मर्यादाक्रम संशोधनको प्रस्ताव मन्त्रिपरिषद्को प्रशासनिक समितिमा पठाइएको छ । छैटौँमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रिपरिषद्का पूर्वअध्यक्षलाई राखिएको छ । यही मर्यादाक्रममा पूर्वराजालाई राख्नुपर्ने गृह मन्त्रालयको निष्कर्ष थियो ।

गृह मन्त्रालयले सहसचिव शिवराम पोखरेलको नेतृत्वमा एक समिति गठन गरी यसबारे संशोधन प्रक्रिया अघि बढाएको थियो । यसअघि १६ वैशाख ०७६ मा मर्यादाक्रम प्रकाशन भएको थियो ।

त्यसमा प्रदेशका कतिपय पद छुटेको र केहीमा तलमाथि आवश्यक रहेको गुनासोका आधारमा यस्तो समिति बनेको थियो । यसअघिको मर्यादाक्रममा पूर्वराजालाई नसमेटिएको भन्दै आलोचना भएपछि यसपटक उनलाई समेटिएको थियो ।

तर, संसदीय चुनावको मुखमा सरकारले पूर्वराजालाई सम्मान दिन खोजेको सन्देश जान सक्ने भएकाले यस विषयमा तत्काल कुनै निर्णय नगरिएको एक मन्त्री बताउँछन् ।

सुरक्षा व्यवस्थापनलगायत विषयलाई ध्यानमा राखी आफूहरूले पूर्वराजालाई मर्यादाक्रममा राख्न खोजेको गृहका अधिकारीको भनाइ छ । नयाँ मर्यादाक्रममा अन्तर्राष्ट्रिय प्रचलनको पनि अनुशरण गरी केही हेरफेर गरिएको स्रोत बताउँछ ।

प्रशासनिक समितिले अन्तिम टुंगो लगाएपछि मर्यादाक्रम राजपत्रमा प्रकाशित हुनेछ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल मर्यादाक्रमसम्बन्धी केही संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको र के निर्णय भयो भन्ने जानकारी आइनसकेको बताउँछन् । नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस