Latest News

मानिसले मलद्वारबाट समेत श्वास फेर्न सक्ने वैज्ञानिकको दाबी !

Nepalese Times June 24, 2022 (1 Year ago)    417 Views

काठमाडौं । यदि वैज्ञानिकहरुको कुरा पत्याउने हो भने अब मानिसले नाक र मुखबाट मात्र होइन निकट भविष्यमै आफ्नो मलद्वारबाट पनि श्वास फेर्न पाउनेछ ।

मानिसले मलद्वारबाट समेत श्वास फेर्ने कुरा सुन्दैमा अनौठो तथा अपत्यारिलो भए पनि यदि यो सम्भव भएमा त्यसले मानव शरीरको संरचनामा मात्रै होइन चिकित्सा विज्ञानमै ठूलो हलचल ल्याउनेछ ।

मलद्वारबाट समेत श्वासप्रश्वास गर्नसक्ने कुरालाई प्रमाणित गर्नका लागि वैज्ञानिकहरुले सुँगुर र मुसामा परीक्षण गरेका थिए । साथै केही कछुवामा पनि यो परीक्षण गरिएको थियो । त्यस सम्बन्धी रिपोर्ट हालै क्लिनिकल एण्ड ट्रान्सलेसनल रिसोर्स एण्ड टेक्नोलोजी इनसाइट जर्नलमा प्रकाशित भएको छ ।

उक्त प्रयोगका क्रममा वैज्ञानिकहरुले ती जीवहरुको आन्द्रालाई रगडेर थोरै पातलो बनाए ता कि म्युकोसल लाइन पातलो होस् । यसले आन्द्राको रक्तप्रवाहमा तिव्रता आउँदछ र कुनै बाधा उत्पन्न हुँदैन । त्यसपछि ती जीवहरुलाई कम अक्सिजन भएको कोठामा राखियो । कछुवामा चाहीँ प्राकृतिक रुपमै पातलो म्युकोसल लाइन भएको आन्द्रा हुन्छ । त्यसैले कछुवालाई स्वास लिनमा कुनै पनि समस्या आउँदैन र चिसो याममा पनि जिवित रहन्छ ।

डेलीस्टारमा प्रकाशित रिपोर्ट अनुसार जुन जनावरलाई कम अक्सिजन भएको च्याम्बरमा राखिएको थियो ती ११ मिनेटपछि मरे । किनकी उनीहरुको आन्द्रामा कुनैपनि प्रकारको उपचार गरिएको थिएन । तर जुन जनावरको आन्द्राको उपचार गरी म्युकोसल लाइन पातलो बनाइएको थियो उनीहरु करीब १८ मिनेट सम्म बाँच्न सफल भए । त्यसरी बाँच्ने जीवहरुले मलद्वारबाट पनि श्वासप्रश्वास गरिरहेका थिए ।

वैज्ञानिकहरुले उक्त परीक्षण करीब १ घण्टासम्म जारी राखे । आन्द्रा पातलो बनाइएका जीवको मलद्वारबाट प्रेसर अक्सिजन दिइयो । त्यसो गर्दा ती मध्ये ७५ प्रतिशत जीव १ घण्टासम्म जिवित रहे । यसबाट के पत्ता लाग्यो भने आन्द्राको पत्रलाई पातलो बनाइएको खण्डमा मुसा र सुँगुरले कम अक्सिजन भएको बेला आफ्नो मलद्वारबाट समेत श्वास फेर्न सक्दा रहेछन् ।

वैज्ञानिकहरुले मानिसको आन्द्रामा समेत यस्तै खालको उपचार गरेर मलद्वारबाट श्वास फेर्न सकिने बनाउन सम्भव रहेको बताएका छन् । यद्यपि हालसम्म कुनै पनि मानिसमा यसको परीक्षण भएको छैन । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस