Latest News

स्वास्थ्यमन्त्री खतिवडाले पनि गरे राजिनामाको घोषणा, दिए यस्तो जवाफ

Nepalese Times June 24, 2022 (2 Year ago)    616 Views

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भइसकेपछि मन्त्री पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।

केन्द्रीय कार्यालय आलोकनगरमा जारी पोलिटब्युरो बैठकमा सहभागी हुन पुगेका उनले पत्रकारहरुसँग बोल्दै पार्टी निर्णय कार्यान्वयन गरिने र राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको नीतिक तथा कायृक्रमम पारित भएपछि सरकारबाट फिर्ता हुने बताएका हुन् ।

उनले भने, ‘हामीबीच कुनै समस्या छैन। हामी मन्त्री पद छाड्न तयार छौँ । पार्टीको निर्णय नमान्ने कुरै छैन। कुनै
भाँडभैलो भएको छैन। हामीले मन्त्री छाड्न तयार छौँ भनेका छौँ।’

खतिवडाले पार्टीले फिर्ता बोलाउने निर्णय गरेका चार मन्त्रीले राष्ट्रियसभाबाट बजेट पास भएपछि सरकार छाड्ने उनले जानकारी दिए।

यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराएका हुन् ।

‘पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप २ महिनामा पनि काम गर्ने अवसर दियो,’ आलेलाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, ‘पछिल्लो समयमा फिर्ता गर्न छापामार शैलीमा निर्णय भयो ।’

आलेले पार्टीको पछिल्लो निर्णयले आफूहरूको आत्मसम्मानमा चोट पुगेको पनि बताए । उनले भने, ‘त्यसले हाम्रो आत्मसम्मानमा चोट लगाउने काम भएको छ । पार्टीले गरेको निर्णयलाई मान्दै ४८ घण्टाभित्र राजीनामा दिन्छु।’

एकीकृत समाजवादीले यसअघि नै चार मन्त्रीलाई फिर्ता गर्ने र अन्यलाई पठाउने सिफारिस गरे पनि निर्णय कार्यान्वयन हुन सकेको छैन । ४ मन्त्रीसहित १० सांसदहरुले असन्तुष्टि जनाउँदै शुक्रबार नै संसदीय दलको बैठक बोलाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस