Latest News

१० सांसदको लिस्ट बोकेर मन्त्री प्रेम आले र किसान श्रेष्ठ ओली निवास बालकोटमा सुटुक्क !

Nepalese Times June 24, 2022 (1 Year ago)    1569 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट विद्रोहको तयारी गरेका १० जना सांसदको विषय लिएर पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न सुटुक्क बालकोट पुगेका छन् ।

मन्त्रीहरु फेर्ने पार्टी निर्णय नमान्ने भन्दै ‘विद्रोह’को तयारी गरेका उनीहरु एमाले अध्यक्ष ओली भेट्न बालकोट पुगेका हुन् । यसअघि ओलीले उनीहरुलाई पहिलेकै घर फर्कन पटक–पटक आग्रह गर्दै आएका थिए ।

अध्यक्ष ओलीले माधव कुमार नेपालबाहेक सबै नेकपा एमालेमा फर्कन भन्दै एमालेका अरु नेताहरुमार्फत पनि विभिन्न चरणमा कुरा पु्र्याउने गरेका थिए ।

अहिले भने एकीकृत समाजवादीमा विद्रोहको तयारी भइरहँदा उनीहरुसँग छलफल गर्न ओलीले आले र श्रेष्ठलाई बोलाएका नेकपा एमालेका एक नेताले बताए । उनीहरुबीच कुन समयमा भेट भएको र अरु को-को सहभागी थिए भन्नेबारे भने उनले खुलाएनन् ।

उनीहरु माधव नेपालको साथ छाडेर एमालेमै फर्कने धेरै समयअघिदेखि चर्चा हुँदै आएको छ । उनीहरुले संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

सरकारमा रहेका मन्त्रीसहित १० जना सांसदहरुले मन्त्री फेर्ने यसअघिको निर्णय नमान्ने संकेत गर्दै सो विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाउन माग गरेका हुन्।

संसदीय दलको बैठक बोलाउन माग गर्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमार झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ, सांसद् कृष्णलाल महर्जन छन्।

यस्तै, सांसदहरु गोपाल बहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पा कुमारी कर्ण कायस्थ, धन बहादुर बुढा र निरा जैरुले पनि संसदीय दलको बैठक बोलाउन माग गर्दै ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन्।

१० जना सांसद्‌हरुले सरकारमा रहेका पार्टीका नेता (मन्त्री) हरुलाई अपराधीको जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि समेत पोखेका छन्।

यस्तै नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाललाई पार्टी विभाजन नगरौँ भनेर आफूले गरेको अनुनयविनयलाई अस्वीकार गर्दा अहिले संकटमा फसेको बताएका छन्।

एकीकृत समाजवादीका चार मन्त्रीसहित १० सांसदले अध्यक्ष नेपालको निर्णयलाई चुनौती दिँदै संसदीय दल बैठक नै बोलाउन माग गरेपछि भट्टराईले आफ्नो धारणा ल्याएका हुन्।

तत्कालीन नेकपा विभाजनअघि र एमाले ब्यूँतिएपछि पनि नेपालको साथमा रहेका भट्टराईले एकीकृत समाजवादीको अहिलेको अवस्था देख्दा विभाजनको औचित्य पुष्टि गर्न नसकेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस