Latest News

एकीकृत समाजवादीबाट विद्रोह गर्ने १० सांसदलाई एमाले अध्यक्ष ओलीले गरे यस्तो प्रस्ताव, तनावमा माधव नेपाल

Nepalese Times June 24, 2022 (2 Year ago)    739 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका १० जना सांसदहरुले मन्त्रीहरु फेर्ने पार्टी निर्णय नमान्ने भन्दै ‘विद्रोह’ गरेका छन्। उनीहरुले संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

सरकारमा रहेका मन्त्रीसहित १० जना सांसदहरुले मन्त्री फेर्ने यसअघिको निर्णय नमान्ने संकेत गर्दै सो विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाउन माग गरेका हुन्।

संसदीय दलको बैठक बोलाउन माग गर्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमार झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ, सांसद् कृष्णलाल महर्जन छन्।

यस्तै, सांसदहरु गोपाल बहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पा कुमारी कर्ण कायस्थ, धन बहादुर बुढा र निरा जैरुले पनि संसदीय दलको बैठक बोलाउन माग गर्दै ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन्। १० जना सांसद्‌हरुले सरकारमा रहेका पार्टीका नेता (मन्त्री) हरुलाई अपराधीको जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि समेत पोखेका छन्।

‘पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउछौं भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन,’ ध्यानाकर्षण पत्रमा भनिएको छ।

आगामी आर्थिक वर्ष २०७९–८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्रीमण्डल पूनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने पनि उनीहरुले उल्लेख गरेका छन्।

यस्तै एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपालले आफ्नो कुरा नसुने पार्टी छाड्ने तयारी गरिरहेका उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले प्रवेश गर्न आग्रह गरेका छन् ।

माधव कुमार नेपालले पहिलेदेखि नै पार्टीमा भाँडभैलो मच्चाउने गरेको भन्दै उनले तत्काल पुरानै घरमा फर्कन उनीहरुलाई आग्रह गरेका एक नेताले बताए । तर उनीहरुले नेकपा एमालेमा फर्कने या एकीकृत समाजवादीमै बस्नेबारे भने कुनै जवाफ दिएका छैनन् ।

यस्तै नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाललाई पार्टी विभाजन नगरौँ भनेर आफूले गरेको अनुनयविनयलाई अस्वीकार गर्दा अहिले संकटमा फसेको बताएका छन्।

एकीकृत समाजवादीका चार मन्त्रीसहित १० सांसदले अध्यक्ष नेपालको निर्णयलाई चुनौती दिँदै संसदीय दल बैठक नै बोलाउन माग गरेपछि भट्टराईले आफ्नो धारणा ल्याएका हुन्।

प्रतिक्रिया दिनुहोस