काठमाडौं । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका प्रस्तावित सभापति रवि लामिछानेले नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलसँग भेटवार्ता गरेका छन् ।
उनीहरुबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको छ । सुशासन पार्टीले आफ्नो फेसबुक पेजमा तस्बिरसहित भेटघाटको जानकारी गराएको हो ।
दुई पार्टी पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको सुशासन पार्टीले जनाएको छ ।नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका रमेश खरेल आगामी संसदीय चुनावमा काठमाडौं(१ बाट उम्मेदवारी दिने तयारीमा छन् ।
यस्तै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ ले आज पत्रकार सम्मेलन आयोजना गर्दैछ । उक्त पत्रकार सम्मेलनमा पार्टीमाथि उठेका विभिन्न प्रश्नको जवाफ दिनुको साथै राजनीतिक एन्जेडाबारे पनि रविले प्रष्टाउने छन् ।
पार्टी गठनको घोषणा गर्नुपूर्व रविले विभिन्न पार्टीहरुसँग नेगोसिएसन गरेका थिए । उनको सबैभन्दा सघन संवाद राप्रपासँग भएको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नै रविसँग पटक-पटक कुराकानी गरेका थिए ।
राप्रपा राजतन्त्र, हिन्दूराज्य र एकात्मक राज्य प्रणालीको वकालत गरिरहेको पार्टी हो । यो पार्टीसँग नेगोसिएसन गर्नुको मतलब रविको राजनीतिक लाइन पनि यही नै हो कि भन्ने प्रश्न उब्जेको थियो ।
निकट स्रोतका अनुसार रवि राजतन्त्रप्रति सदासय राख्छन् । तर, राजावादी भनेर चिनिन चाहँदैनन् । संघीयताका आलोचक भए पनि संघीयताको विपक्षमा आफूलाई उभ्याउने मुडमा छैनन् । यस्तै धर्मनिरपेक्षतामा पनि प्रश्न उठाउने उनको सोच छैन ।
रविनिकट स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान संविधानको एउटा व्यवस्थामा मात्रै परिवर्तन चाहेको छ । त्यो हो प्रधानमन्त्री र मुख्यमन्त्रीको निर्वाचन पद्धति । प्रधानमन्त्री र मुख्यमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने वकालत रविले घोषणासभामा नै गरेका थिए । योबाहेक संविधानका सबै विषयवस्तु पार्टीले स्वीकार्ने स्रोतले बतायो ।
घोषणासभामा रविले आफ्नो पार्टी व्यवस्था परिवर्तन गर्न नभई अवस्था परिवर्तन गर्न गठन भएको बताएका थिए । मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित हुनुपर्ने उनको भनाइबाट संघीयताको स्वीकार्ने अर्थ लाग्छ ।
‘यदि असल नियतका साथ इमानदारीपूर्वक काम गर्ने हो भने यही संविधानमा टेकेर पनि देश बदल्न सकिन्छ’, रविले भन्दै आएका छन् ।
रविले घोषणासभामा पार्टीका ७ विशेषताहरु सुनाएका थिए । ती विशेषतामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको वकालत गर्नेबाहेक अरु राजनीतिक एजेन्डा थिएनन् ।
रवि लामिछानेको पार्टीको नामलाई लिएर अहिले तीव्र विवाद उत्पन्न भइरहेको छ । विभिन्न स्वतन्त्र उम्मेदवारहरुले यो नाममा आपत्ति जनाएर आयोगमा निवेदन दिएका छन् । आयोगले नै यसको छिनोफानो गरोस् भन्ने रवि चाहन्छन् ।
यता आयोगले भने तत्काल यो छिनोफानो नहुने संकेत गरेको छ । दल दर्ताको निवेदन र यसमाथि परेका उजुरीहरु एउटै फाइलमा पेस गरेर कानूनी टिमले अध्ययन गरेपश्चात निर्णय लिइने आयोग स्रोतले बतायो ।