Latest News

अन्तत: घट्ने भयो पेट्रोलियम पदार्थको मूल्य, आपूर्तिमन्त्री बडूले दिए यस्तो प्रतिक्रिया

Nepalese Times June 23, 2022 (1 Year ago)    815 Views

काठमाडौं । पेट्रोलियम पदार्थमा मूल्य घटाउने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले संकेत गरेका छन्। मन्त्री बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गरेका हुन् ।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विद्युतको खपत बढाएर मूल्य सहज बनाउन सकिने योजनामा सरकार रहेको बताए।

करका दरहरुमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने विषय संसदमा उठेर ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री बडूले त्यही अनुसार सरकार अघि बढ्ने बताए।

‘पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषयमा सरकारको ध्यानाकर्षण भएको छ। यसको समायोजनका लागि संसदमा कुरा उठेकाले ट्याक्स समायोजन गरेर भए पनि घटाउनेतर्फ कुरा भएको छ’, उनले भने, ‘अर्को विकल्प भनेको विद्युतको खपत बढाउने हो। त्यो कामलाई सरकारले प्राथमिकता दिएको छ।’

मन्त्री बडूले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थको निर्भरता घटाउने कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाएको दाबी पनि गरेका छन्।

यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्यायाधिश राजकुमार कोइराला र कानुन व्यवसायी रुद्र प्रसाद पोखरेलबीचको ‘घुस डिल’को अडियोबारे छानबिन भइरहेको बताएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखेलका बिचमा इच्छाराज तामाङ समेतको ठगी मुद्दाका विषयमा दुई करोड रुपैयाँ घुस बार्गेनिङ भएको अडिओ बुधबार सार्वजनिक भएको थियो।

न्याय परिषद् सदस्य समेत रहेका मन्त्री शर्माले जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउनका लागि घुस लेनदेनको विषयमा कुराकानी भएको अडियो सार्वजनिक भएकाले त्यसको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति नै गठन गरिएको बताए।

बिहीबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री शर्माले न्यायालय सुधारका लागि सरकारले अभियान नै संचालन गरेको दाबी समेत गरे।

न्यायाधीशको नियुक्ति नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढ्दै गएको उल्लेख गर्दै मन्त्री शर्माले त्यसलाई हटाउनका लागि सरकारले निर्देशिका बनाउने कामलाई अघि बढाएको जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस