Latest News

एकीकृत समाजवादीका बहुमत सांसदले माधव नेपाललाई कारबाही गर्ने, यी मन्त्रीले थाले यस्तो तयारी

Nepalese Times June 23, 2022 (2 Year ago)    543 Views

काठमाडौं । बजेट भाषणलगत्तै बसेको नेकपा एकीकृत समाजवादीको बैठकले मन्त्री हेरफेरको निर्णय गर्यो । लगत्तै अध्यक्ष माधव कुमार नेपाल नयाँ मन्त्रीको लिस्ट बोकेर प्रधानमन्त्री निवास बालुवाटार पुगे ।

तर, अध्यक्ष नेपालले लगेको नयाँ लिस्ट पारित हुन सकेन । बजेट पारित हुनुभन्दा पहिले पुराना मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवा तयार भएनन् ।

अध्यक्ष नेपालले बालुवाटार पुर्याएको लिस्टमा नयाँ मन्त्रीहरुमा मेटमणी चौधरी, जीवनराम श्रेष्ठ, शेरबहादुर कुवँरलगायत रहेका छन् । लामो समयसम्म पनि नयाँ मन्त्री नियुक्त हुन नसकेपछि नेकपा एकीकृत समाजवादीमा भाँडभैलो मच्चिएको छ । मन्त्रीहरु प्रेम आले र रामकुमारी झाँक्रीले आफूहरु कुनै पनि हालतमा मन्त्री पदबाट नहट्ने अडान लिएपछि अध्यक्ष नेपाल तनावमा परेका छन् ।

समाजवादीमा पुराना मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्ने विषय पेचिलो बन्दै गएसँगै असन्तुष्ट मन्त्रीहरुले अध्यक्ष नेपाललाई नै कारबाही गर्नुपर्ने धम्की दिएका छन् ।

एकीकृत समाजवादीका मन्त्रीहरूले सरकारबाट बाहिरिनुपर्ने हो भने ५ बुँदे सर्त मान्न तयार हुनुपर्ने बताएका छन् । अध्यक्ष माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बुधबार साँझ भएको छलफलमा मन्त्रीहरूले पार्टीको निर्णय कार्यान्वनयन गर्न तयार भएपनि नयाँ मन्त्री चयनलगायतका विषयमा असहमति जनाएका हुन् ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठले अध्यक्ष नेपाललाई भेटी ५ बुँदे सर्त राखेका हुन् । उनीहरूले संसदमा बजेट विचाराधीन हुँदा नै मन्त्री फेर्ने हल्ला गराएर पार्टीले अपरिपक्व निर्णय लिएको आरोपसमेत लगाएका छन् । सरकारमा आफूहरूको पर्फमेन्स अरु दलको भन्दा उत्कृष्ट भएको जिकिर गर्दै उनीहरूले मन्त्री फेर्ने हल्ला चलाएर कर्मचारीसामु निरीह बनाउनु पार्टी नेतृत्वको गल्ती भएको भन्दै आलोचना समेत गरेका छन् ।

आफूहरुले मन्त्रालय सम्हालेपछि राम्रो काम गरेको भएपनि अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालले हटाउन खोजेको भन्दै बहालवाला मन्त्रीहरुले आफूहरुलाई हटाउने निर्णय गरेकोले अध्यक्ष नेपाललाई नै कारबाही गर्नुपर्ने बताइरहेका छन् ।

संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले आफूहरुलाई मन्त्री पदबाट हटाए बहुमत सांसद जुटाएर अध्यक्ष माधव कुमार नेपाललाई नै कारबाही गर्ने धम्की दिएका छन् ।

उनले समाजवादीका सभासदहरुमध्ये आफूहरुको पक्षमा १८ सांसद रहेको दाबीसमेत गरेका छन् । मन्त्री पदबाट हट्नुपर्ने कुनै कारण नरहेकोले विना कारण आफूहरु पदमुक्त हुन नचाहेको मन्त्री आलेले बताएका छन् ।

तर, नेकपा एकीकृत समाजवादीले भने मन्त्रीहरू हेरफेरको निर्णय अब दिनमा होइन घण्टामा कार्यान्वयन हुनुपर्ने निर्णय गरेको छ । सचिवालयको मंगलबारको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय र स्थायी कमिटीको निर्णय बिनासर्त लागू हुनुपर्ने बताए ।

खतिवडाले मन्त्रीहरूले पार्टी निर्णय मान्नका लागि कुनै सर्त राख्न नपाउने भन्दै स्थायी कमिटी बैठकको निर्णय नै अन्तिम सर्त हुने बताए । उनले भने, ‘पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने एकमात्र सर्त हो, अरु व्यक्तिगत सर्तको अर्थ हुन्न । अब यो निर्णय केही दिनमा होइन केही घण्टामा लागू हुनुपर्छ ।’
नेकपा एसका मन्त्रीहरूले आफूहरू हट्नका लागी पाँचवटा सर्त माधव नेपाल समक्ष राखेकोमा खतिवडाले सर्तको अर्थ नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस