काठमाडौं । कास्कीको पोखरा आसपासमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।
भूकम्पका कारण मानिसहरु भागभाग भएका थिए । सबैजना घरबाहिर निस्किएका थिए । धम्पुस केन्द्रविन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरतप्रसाद कोइरालाका अनुसार सामान्यतया भूकम्प भनेको पृथ्वी हल्लिनु हो। पृथ्वी जुनसुकै कारणले हल्लिएको भए पनि त्यो भूकम्प हो।
‘भूकम्प चार किसिमले जान्छ। पहिलोमा टेक्टोनिक प्लेटको चालको कारण, दोस्रो ज्वालामुखी विष्फोटका कारण, तेस्रो कोल्याप्स भूकम्पका कारण र चौथो भनेको आणविक परिक्षणका कारण जान्छ।
पृथ्वीमा सात वटा मूख्य प्लेटहरु हुन्छन्। ती सात वटै प्लेटहरुसँगै हिडिरहेका हुन्छन्। जब ति प्लेटहरु एकआपसमा ठोक्किन्छन् अनि पृथ्वीमा भूकम्प जान्छ। दुई वटा प्लेटहरु जुन ठाउँमा ठोक्किन पुग्छन्, त्यो ठाउँमा सबैभन्दा ठूलो भूकम्प जाने गर्छ। यो तीन किसिमले हुन्छ’ कोइरालाले भने।
कोइरालेले भने ‘पृथ्वीको सतह भन्दा ३० किलो मिटर माथिबाट आउने स्यालो, ३० देखि ७० किलो मिटरसम्मको मिडियम र ३० देखि ३ सय किलो मिटरसम्मको डिप हो। पृथ्वीमा भूकम्प जाँदा बढि क्षति गर्ने भनेको यही ३० किलोमिटरको स्यालो भूकम्प हो।’ उनका अनुसार भूकम्प जति माथिबाट गयो त्यसले झन धेरै असर गर्छ। २०७२ वैशाख १२ गतेको भूकम्प यही स्यालो भूकम्प हाे।
भूकम्प जहिले पनि दुई वटा वेभ मार्फत जान्छ। पहिलो बडि वेभ र दोस्रो सर्फिस वेभ हो। बडि वेभमा प्राइमरी र सेकेन्डरी र सर्फिस वेभमा रेली र लव भन्ने फरक फरक प्रकारका वेभहरु हुन्छन्। विभिन्न सिद्धान्तका अनुसार भूकम्प होरिजोन्टल र भर्टिकल वेभबाट जान्छ। तर कहिलेकाहीं यी दुवै वेभबाट जाने गर्छ। यसरी गयो भने यसले पृथ्वीमा ठूलो असर पु-याउँछ।
जुन नेपालले पनि महसुस गरिसकेको भन्दै भूकम्पविद् कोइराला भन्छन्, ‘अहिले नेपालमा पनि दिनहुँ जसो १ देखि ४ रेक्टरस्केलका साना पराकम्पहरु भइरहेका छन्, जुन हामीले महसुस गर्नै सक्दैनौं।’ ठूलो भूकम्प गएको क्षेत्रमा त्यस पश्चात साना–साना कम्पन हुने प्रक्रिया नै पराकम्प भएको जानकारी पनि कोइरालाले दिए। ति साना पराकम्पले कुनै क्षति नगर्ने तर ५ रेक्टरस्केलभन्दा माथीको भूकम्पले मात्र क्षति गर्ने उनको भनाई छ।
भूकम्प जहिले पनि रेक्टरस्केल र इन्टेन्सिटी गरी दुई किसिमले मापन गरिन्छ। अहिले रेक्टरस्केलको विकास भइसकेपछि इन्टेन्सिटी माध्यमको कम मात्रामा प्रयोग भएको कोइरालाको भनाई छ। रेक्टरस्केलले भूकम्पको क्षमता अर्थात गति मापन गरिन्छ भने इन्टेन्सिटीले भूकम्पले गरेको क्षतिको मात्रालाई हेरेर मापन गरिने उनले बताए।