काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चारकर्मी रवि लामिछानेको राजनीतिक यात्रालाई सकारात्मक भनेका छन्।
मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। राजनीतिमा लाग्ने नयाँ पुस्तालाई पुराना दलमै अवसर दिनुपर्नेमा पनि उनले जोड दिए।
उनले रविसहितको राजनीतिक यात्राले पुराना दल र नेताहरुलाई अझै तिखारिने अवसर दिएको बताए। ‘हामीले आफूलाई अझै थप निखार्न जरुरी छ’, उनले बालेन शाहको जितबारे पनि भने, ‘केही साथीहरुले स्वतन्त्र रुपमा स्थानीय तह जित्नु भएको छ। केही प्रदेश र प्रतिनिधिसभामा आउन खोजिरहनु भएको छ।’
स्वतन्त्र र नयाँ पुस्ताका कारण अब ठूला दलको भोट बैंक सुरक्षित नरहेको थापाले बताए। ‘अब ठूला दलहरूका भोट बैंक भएका र जितेका ठाउँ सुरक्षित छैनन्’, उनले भने, ‘ठूला र पुराना दलहरुले नयाँ पुस्तालाई जतिसक्दो स्पेश दिएर आफूलाई सुधार्न सक्नुपर्छ।’
‘पुराना दलहरूका तर्फबाट हामीले गर्नुपर्ने कुरा भने नयाँ नयाँ आकांक्षा भएका साथीहरुलाई अवसर दिनुपर्छ’, उनले भने, ‘दलभित्रै छिर्न डर लाग्ने अवस्थाको अन्त्य गरिनुपर्छ।’
उनले नयाँ र उत्साही युवाहरुलाई तल्लो तहबाट होइन, बीचबाटै पनि अघि बढाउनुपर्नेमा जोड दिए।
‘पार्टीभित्र तल्लो खुड्किलाबाट होइन, बीच बाटैबाट पनि उनीहरुलाई अघि बढ्न पाउनुपर्छ भन्ने अभियानमा छौँ’, उनले भने, ‘पार्टीको सदस्यता प्रणालीले नै फेर्न लागिरहेका छौँ। यसलाई जति छिटो बदल्न सक्यो हामीलाई त्यति सहज हुन्छ।’