काठमाडौं । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टी निर्माणको घोषणा गरेलगत्तै विभिन्न प्रतिक्रियाहरु सार्वजनिक हुन थालेका छन् । नयाँ पार्टी घोषणा गरेलगत्तै उनका समर्थकहरुले खुशी मनाइरहँदा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकाहरुले भने कदम गलत भएको टिप्पणी गरेका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएर प्रतिननिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका सुमन सायमीले लामिछानेको नयाँ पार्टी घोषणाको कदम गलत भएको टिप्पणी गरेका छन् । उनले भने, ‘राजनीतिक पार्टी नै खोल्ने हो भने त अरु पार्टी पनि छन् । हामीहरुले नयाँ पार्टी खोल्न खोजेका हौइनौँ । विकल्पको खोजी गरेका हौँ ।’
यस्तै उनले रविका दाई हरिशरण लामिछानेले आफूसँग भएको फोटो सार्वजनिक गर्दै मिडियालाई गलत सुचना प्रवाह गरेकोसमेत आरोप लगाएका छन् । लामिछानेको दाजुभाईले फटाईँ काम गरेको भन्दै उनले अब आफूहरु नयाँ ढंगले छलफल गरेर अघि बढ्ने बताए ।
यस्तै रविका दाजु हरिशरण लामिछानेले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि पोखेका हुन् । रविले ‘परिवारवाद’ देखिने भनेर आफूलाई पार्टीमा स्थान नदिएको भन्दै दुखेसो पोखेका छन् ।
हरिशरणले लेखेका छन्, ‘कुनै पनि नया सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली लाई अर्को सदस्यसङ्ग भिडाइ नाता ‘अप्रमाणित’ भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नु होला । पछि आपसी मायाप्रेममा परि बिहेबारी भै कुनै अवस्थामा नाता प्रमाणित भएमा सदस्यता खारेज हुन सक्छ है। ‘लामिछाने’ बन्धुहरु सरसल्लाह गर्नुहोला।’
हरिशरणले आफू रविको पार्टीमा आजीवन नलाग्ने घोषणा पनि गरेका छन् । ‘दर्ता हुन बाकी सो पार्टीका कुनै पनि गतिविधीमा म परिवारको नातेदारको नाताले नैतिक रुपले सम्लग्न हुने त कुरै भएन। राजनैतिक रुपले त्यो पार्टिमा म आजिबन रहने छैन भन्ने जानकारी पनि गराउदछु।’ उनले लेखेका छन् ।
स्वतन्त्र र दलगत राजनीतिका आगि आफूसँग अपार सम्भावना र अवसर रहेको हरिशरणको दावी छ । नेपाल आमाको एक स्वतन्त्र नागरिकका नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहने छ । ३ दशकभन्दा लामो समयदेखि सञ्चारक्षेत्रमा सक्रिय हरिशरण पनि प्रतिनिधिसभाको आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
यस्तै नयाँ पार्टी घोषणा हुन नपाउँदै धेरैजसो मानिसहरुले उनलाई रविन्द्र मिश्रको पथमा जाने चिन्ता व्यक्त गरिरहेका छन् । नयाँ पार्टी घोषणा गरेर मात्रै नहुँने भन्दै उनका समर्थकहरुले समेत चिन्ता व्यक्त गरिरहेका छन् ।
लामिछानेले नयाँ पार्टी घोषणा गरेसँगै विवेकशिल साझा पार्टी निर्माण गरेका रविन्द्र मिश्रले लामिछानेलाई शुभकामना दिएका छन् । उनले पार्टी निर्माणको क्रममा आफूहरुले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्न आग्रहसहित शुभकामना दिएका हुन् ।
उनले लेखेका छन्,
‘प्रिय रवी,
तिमी सानै हुँदादेखि चिनेकोले मैले ुतिमीु भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी। मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी। पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि ह्रिदयदेखि शुभकामना व्यक्त गर्दछु ।’