काठमाडौं । रवि लामिछानेले आगामी राजनीतिक यात्राबारे औपचारिक घोषणा गर्न लागेको कार्यक्रममा सेलिब्रिटीहरु पनि पुग्न थालेका छन्।
राष्ट्रियसभा गृह प्रदर्शनीमार्गमा सुरु हुँदै गरेको उक्त औपचारिक घोषणा कार्यक्रममा कलाकारहरु पनि रविलाई साथ दिन पुगेका हुन्।
राष्ट्रियसभागृहको हलमा अहिलेसम्म चर्चित लोकगायक प्रेमराजा महत पनि पुगेका छन्। त्यसैगरी चर्चित हाँस्य कलाकार किरण केसी र शिवहरि पौडेल पनि रविको औपचारिक घोषणामा सहभागी हुन पुगेका छन्।
पछिल्लो समय ठूला राजनीतिक दललाई निशाना बनाउँदै स्वतन्त्र अभियानलाई सघाइरहेका पूर्वसचिव भीम उपाध्याय पनि राष्ट्रियसभा गृहमा पुगेका छन्।
त्यस्तै, राजनीतिमा होमिने निर्णयपछि नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दलले भित्र्याउन खोजिरहेका बेला उनले आफ्नो राजनीतिक यात्राबारे औपचारिक घोषणा गर्न लागेका हुन्।
राष्ट्रियसभा गृहस्थित कार्यक्रमस्थलमा प्रवेश गर्न मानिसहरुको लामो लाइन सडकसम्मै आइपुगेको छ। पछिल्लो समय ग्यालेक्सी फोर के टेलिभिजनमा ‘सीधा कुरा’ कार्यक्रम सञ्चालन गरिरहेका लामिछानेले अहिले यात्राबारे विस्तृत जानकारी दिइरहेका छन् ।
राजनीतिमा नयाँ पुस्ताका रुपमा उदाउने योजनामा रहेका लामिछानेले टेलिभिजन छोडेकै दिन गत बिहीबार आफ्नो राजनीतिक यात्राबारे जानकारी दिने बताएका थिए।