काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकार बनेयता कुनै संवाद हुन नसकेको आरोप लगाएका छन् ।
‘यो शेरबहादुर देउवा नेतृत्वको सरकार बनेयता कुनै संवाद नै छैन। राष्ट्रिय मुद्दामा पनि सरकार छलफल गर्दैन’, उनले भने, ‘२०४६ सालयता पहिलो पटक संवादहीनताको अवस्था छ।’
ओलीले प्रधानमन्त्री देउवातिर लक्षित गर्दै प्रतिपक्षीसँग संवाद नगरी अघि बढिरहेको आरोप लगाए। ‘प्रतिपक्षीसँग वार्ता नगरी चलाउने भए चलाउनु । सरकार डेमोक्रेसीको रुलअनुसार चल्नुपर्छ। हामीले प्रतिनिधिसभामा बोल्दा पनि यही भनेका थियौँ।’ उनले छिमेकीहरूसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारसहित प्रस्तुत हुनुपर्नेमा पनि जोड दिएका छन्।
यदि हाम्रा छिमेकीसँग विश्वसनीय व्यवहार गर्न सकेनौँ भने हामीले परिपक्व व्यवहार गरेनौँ भन्नुपर्ने भन्दै उनले भने, ‘छिमेकीहरूसँग कार्ड खेल्न सक्दैनौँ। छिमेकीहरूसँग बाहिर एक थोक भित्र अर्को थोक गर्न सकिँदैन। त्यसैले हामी होसियारीपूर्वक अघि बढ्नुपर्छ।’
२०४६ सालको राजनीतिक आन्दोलनयता पहिलो पटक देशमा गहिरो संवादहीनताको अवस्था रहेको उनको भनाइ छ । वर्तमान सन्दर्भमा नेपालको परराष्ट्र मामिलाबारे पूर्व राजदूत समूहले मंगलबार गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधनका क्रममा ओलीले यस्तो बताएका हुन् ।
उनले यसअघि प्रधानमन्त्री विदेश जानुअघि प्रतिपक्षीसँग परामर्श हुने गरेकोमा अहिले त्यो पनि बन्द भएको गुनासो गरे ।
प्रतिपक्षी एउटा वैकल्पिक सरकार भएको र सरकारमा जान तयार शक्ति हो भनेर विदेश जानुअघि परामर्श गरिनुपर्ने बताए । उनले भने, ‘विज्ञहरुसँग पनि छलफल हुनुपर्थ्यो । पहिले त विज्ञसँग पनि परामर्श हुन्थ्यो। अहिले त्यो पनि हुन छाडेको छ।’