Latest News

नेपालमा पेट्रोलको मूल्य बढेको बढ्यै, दक्षिण एसियाकै महँगो

Nepalese Times June 21, 2022 (1 Year ago)    414 Views

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य दक्षिण एसियामै महँगो भएको छ । नेपाल आयल निगमले सोमबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ९९ रुपैयाँ (१.५९ डलर) र डिजेल प्रतिलिटर एक सय ९२ रुपैयाँ (१.५३ डलर) पुर्‍याएको छ । पेट्रोलियम महँगो बेच्नेमा नेपाल एसियामा २८औँ र विश्वमा ८२औँ स्थानमा छ ।

दक्षिण एसियामा नेपालपछि भुटानमा पेट्रोलियम महँगो छ । त्यहाँ पेट्रोल प्रतिलिटर १.३८ डलर र डिजेल १.२१ डलर छ । भुटानको भन्दा नेपालमा पेट्रोल प्रतिलिटर २६ रुपैयाँ र डिजेल ४० रुपैयाँ महँगो छ । श्रीलंकामा पेट्रोल प्रतिलिटर १.२६ डलर (एक सय ५८ रुपैयाँ) र डिजेल १.१२ डलर (एक सय ४ रुपैयाँ) छ ।

त्यस्तै, पाकिस्तानमा पेट्रोल प्रतिलिटर १.११ डलर (एक सय ३९ रुपैयाँ) र डिजेल १.२५ डलर (एक सय ५७ रुपैयाँ) छ ।

केही दिन अघिसम्म नेपालको भन्दा महँगो मूल्य रहेको भारत पनि अहिले चौथो नम्बरमा छ । नयाँदिल्लीमा पेट्रोल प्रतिलिटर १.२४ डलर (एक सय ५६ रुपैयाँ) र डिजेल १.१५ डलर (एक सय ४४ रुपैयाँ) पुगेको छ ।

पेट्रोलियम पदार्थ बाहिरको बजारमा जे मूल्य छ त्यसैमा किनेर ल्याउने हो । ल्याएकै रेटमा बेच्न सकिँदैन । अझै पनि पेट्रोलमा ३१ रुपैयाँ घाटा भइरहेको छ । अहिले प्रत्येक महिना नौ अर्ब ६३ करोड रुपैयाँ घाटा छ ।

पेट्रोलियम पदार्थ खरिद गरेबापत भारतलाई २२ अर्ब रुपैयाँ तिर्नुपर्नेछ । यो महिनाभित्र तिर्नुपर्छ । त्यसकारण सरकार मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको हो ।

दक्षिण एसियामा माल्दिभ्समा पेट्रोलियमको भाउ सबैभन्दा सस्तो छ । माल्दिभ्समा अहिले पेट्रोल प्रतिलिटर ०.९५ डलर (एक सय १९ रुपैयाँ) र डिजेल ०.९६४ डलर (एक सय २१ रुपैयाँं) कायम छ । बंगलादेशमा प्रतिलिटर ०.९५ डलर (एक सय १९ रुपैयाँ) र डिजेल ०.८५२ डलर (एक सय सात रुपैयाँ) कायम छ ।

त्यस्तै, अफगानिस्तानमा ०।९५५ डलर (एक सय २० रुपैयाँ) र डिजेल १.१२४ डलर (एक सय ४१ रुपैयाँ) कायम छ । पेट्रोलियम पदार्थ महँगोमा बेच्नेमा नेपाल एसियामा २८औँ र विश्वमा ८२औँ स्थानमा छ । विश्वमा पेट्रोलको औसत मूल्य प्रतिलिटर एक सय ८० र डिजेल एक सय ७२ रुपैयाँ हाराहारी छ ।

संसारभर भेनेजुएलामा पेट्रोलको मूल्य सबैभन्दा सस्तो छ । त्यहाँ पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर ०.०२२ डलर अर्थात् दुई रुपैयाँ ७५ पैसा छ । डिजेल भने भेनेजुएलाभन्दा इरानमा सस्तो छ । नयाँपत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस