काठमाडौं । रवि लामिछानेले नयाँ राजनीतिक दल खोल्ने भएका छन् । भोलि राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणा गर्ने भएका छन् ।
रविको टिमको पार्टीको नाम पनि फाइनल भइसकेको बुझिएको छ । जुन भोलिको कार्यक्रममा घोषणा गरिने छ । पार्टीको मुख्य नेतृत्वमा रवि रहनेछन् भने अन्य पदाधिकारीहरूको विषयमा पनि छलफल भइरहेको छ ।
रविले काठमाडौंको बालाजुमा आफ्नो कार्यालय स्थापना गरिसकेका छन् । ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएपछि उनले यो कार्यालय खोलेका हुन् ।
रविको टिमका एक सदस्य दीपक बोहराले सबै कुरा भोलि थाहा हुने भने कुनै पनि जानकारी दिन अस्वीकार गरे । ‘भोलि उहाँले आफ्नो राजनीतिक करिअरको सुरुवात गर्नुहुन्छ । के–कसरी जाने भन्ने भोलि नै बताउनुहुन्छ,’ बोहराले भने ।
कतिपय विषयहरूमा अझै पनि छलफल जारी रहेको उनको भनाइ छ । संचार कर्मबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिने भएका छन् ।
संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले नयाँ पार्टी खोल्ने निर्णय गरेको स्रोतले जनाएको छ । रवि स्वयम् भने प्रत्यक्षमा नै लड्नेछन् ।
रवि लामिछानेले मङ्गलवार नयाँ पार्टी घोषणा गर्न लागेको र आफूले शुभेच्छासमेत दिएको रविका दाई हरिशरण लामिछानेले बताए ।
हरिशरण स्वयम्ले काठमाडौंमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका भन्दै भाइलाई पार्टी निर्माण साथ दिन आफू तयार रहे पनि रविले अहिले सहकार्य नगर्ने मनसाय राखेको बताए ।