Latest News

वामदेवले बोलाए वाम एकताका लागि राष्ट्रिय भेला, केपी ओली सहभागी होलान् ?

Nepalese Times June 20, 2022 (2 Year ago)    677 Views

काठमाडौं । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले वाम एकताका लागि दबाब दिन राष्ट्रिय भेला बोलाएका छन्। ललितपुरमा असार ११ गते हुने राष्ट्रिय भेलामा उनी समर्थक कार्यकर्ताहरू आउने बताइएको छ।

‘उहाँले पहिलादेखि नै वाम एकतामा जोड दिनुभएको हो। अहिले पनि त्यसकै लागि भेला बोलाउनुभएको हो,’ गौतमका स्वकीय सचिव दीपक टमाटाले भने,’वाम एकताको अभियानमा लागेका तर दलमा आबद्ध भएकाहरू पनि भेलामा आउनुहुन्छ।’

नेकपामा तीव्र विवाद भएको बेला २०७७ माघमा गौतमले पार्टी एकताका लागि दबाब भेला बोलाएका थिए।

२०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली समूह एकातिर थियो भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल अर्को समूहमा थिए।

प्रचण्ड-नेपाल पक्षले बहुमत केन्द्रीय सदस्यको बैठकबाट ओलीलाई पार्टीबाट समेत हटाएका थिए। त्यो बेलामा गौतम तटस्थ देखिएका थिए।

२०७७ फागुनमा सर्वोच्च अदालतले नेकपा विभाजन गरिदिएपछि गौतम एमालेमा पनि सक्रिय छैनन्। २०७८ भदौ १८ गते गौतमले एमालेबाट राजीनामा दिएका थिए। उनी त्यो बेलामा उपाध्यक्ष थिए।

एमालेमा ७० वर्ष पुगेपछि सक्रिय राजनीति गर्न नपाइने प्रवाधनकै कारणले पनि उनी पार्टीबाट बाहिरिएका हुन्।

उनले बोलाएको भेलामा को-को नेताहरु सहभागी हुन्छन् भन्नेबारे भने खुलाइएको छैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेलामा सहभागी होलान् कि नहोलान् भन्ने आम चासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस