Latest News

मन्त्रीकै संलग्नतामा पेट्रोलको मूल्य बढाएर करोडौं घोटाला गरेको एमाले सचिवको आरोप

Nepalese Times June 20, 2022 (2 Year ago)    387 Views

काठमाडौं ।  नेकपा एमालेले पेट्रोल पम्पमा अघिल्लो दिन पेट्रोल र डिजल भरेर भोलिपल्ट मूल्यवृद्धि गर्ने गरिएको भन्दै आपत्ति जनाएको छ ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सचिव पद्मा अर्यालले आइतबार दिउँसो सबै पेट्रोल पम्पमा पेट्रोल र डिजल पठाएर राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएर करोडौंको चलखेल गरेको आरोप लगाएकी हुन् ।

एक पटक पेट्रोल पम्पमा भरेको इन्धनले तीन दिनको माग धान्ने भन्दै उनले स्टक क्लियर नगरी मूल्यवृद्धि गरेर करोडौं घोटाला गरेको जिकिर गरिन् ।

उनका अनुसार आइतबार दिउँसोसम्म पेट्रोल पम्पहरुमा ३२ लाख ३४ हजार लिटर पेट्रोल र ४५ लाख २१ हजार डिजल स्टक थियो ।

तर आइतबार रातिदेखि मूल्यवृद्धि गर्दा व्यापारीलाई पेट्रोलमा ६ करोड ७९ लाख १४ हजार र डिजेलमा १२ करोड २० लाख ६७ हजार रुपैयाँ गरी कुल १८ करोड ९९ लाख ८१ हजार नाफा हुने अर्यालले बताइन् । उनले यो रकम सीमित व्यक्तिको खल्तीमा मात्र गएको छ कि मन्त्रीको भागमा पनि परेको छ भनी प्रश्न गरेकी छन् ।

यसअघि जेठमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दा पनि स्टक क्लियर नगरी मूल्यवृद्धि गरी २२ करोड घोटाला भएको अर्यालले बताइन् ।

‘यति ठूलो महंगी सायद इतिहासमा पहिलो पटक भएको छ । जनताको ढाड सेकेर असुली गरेको पैसा कहाँ गएको छ ?’ उनले प्रश्न गरिन्, ‘माननीय मन्त्रीज्यूहरुको संलग्नता भएको छैन भने किन मौन बस्नुभएको छ, किन मुकदर्शक बन्नुभएको छ ?’

प्रतिक्रिया दिनुहोस