काठमाडौं । संचारकर्म चाडेर राजनीतिमा होमिने घोषणा गरेका रवि लामिछानेले आउँदो प्रतिनिधिसभा चुनावमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यसका लागि उनले काठमाडौंमा मंगलबार काठमाडौंमा विशेष कार्यक्रमकको आयोजना गर्दै छन् ।
उनी राजनीतिक दलबाट उम्मेदवार बन्ने या स्वतन्त्र उम्मेदवार बन्ने भन्ने निक्र्यौलमा पुग्न अझै सकिरहेका छै्रनन् । उनका सुभचिन्तकहरुले स्वतन्त्र उम्मेदवारी दिन सल्लाह दिईरहेका छन् । उनले भने, विभिन्न राजनीतिक दलबाट आफूलाई अफरहरु आईरहेको बताएका छन् ।
यसैक्रममा नेपाली कांग्रेसले पनि उनलाई काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न र चुनाव जितेपछि मन्त्री बनाउने अफर गरेकाच छन् । तर, लामिछानेले भने यसमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।
कांग्रेसका केही नेताहरुमार्फत नेपाली कांग्रेस प्रवेश गर्न प्रस्ताव लगेका प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले लामिछानेलाई टेलिफोनसमेत गरेका छन् । उनले रवि लामिछानेलाई टेलिफोन गरेर कांग्रेस प्रवेश गर्न प्रस्ताव अघि सारेका छन् । टेलिफोनबाटै देउवाले लामिछानेलाई चुनाव जितेपछि मन्त्री बनाउने आश्वासनसमेत दिएका छन् ।
नेपाली कांग्रेसका केही नेताहरुमार्फत देउवाले रविसँग विभिन्न चरणमा छलफल गरेका छन् । तर रविले भने यस्तो प्रस्तावमा कुनै जवाफ दिएका छैनन् । रविले वचन नदिए पनि कांग्रेसले उनलाई ‘सांसद हुँदै मन्त्री बनाउनेसम्म’ को प्रस्ताव गरेको स्रोतल जनाएको छ।
सार्वजनिक जीवनमा महत्वपूर्ण काम गरेका र समाजमा छवि निर्माण गरेका व्यक्तित्वहरुलाई मूलधारको पार्टीले महत्व दिनुपर्ने निष्कर्षसहित कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको शीर्ष तहमै छलफल गरिरहेका छन् ।
रविलाई काठमाडौं क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने प्रस्ताव गरिएको छ । त्यस्तै निर्वाचनपछि बन्ने सरकारमै उपयुक्त भूमिका दिनेबारे पनि छलफल भएको छ ।
काठमाडौं २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो । यसपटक नेपाल रौतहटबाट निर्वाचन लड्ने सम्भावना छ । विगतमा सो क्षेत्रमा कांग्रेसबाट दीपक कुइँकेल र प्रतिमा गौतमले प्रतिस्पर्धा गरेका थिए ।
रविको मतदाता नामावली भने काठमाडौं ३ मा रहेको छ । यही कारण उनी सोही क्षेत्रबाट निर्वाचन लड्न इच्छुक छन् । असार ७ गते नै सबै कुरा स्पष्ट पार्ने सार्वजनिक गरेका रविले आफ्नो आगामी यात्राको मोडालिटीबारे संकेतसम्म गरेका छैनन् । आफ्नो राजनीतिक अभियानमा स्वयंसेवकका रुपमा सहयोग गर्न चाहनेलाई आवेदन दिन उनले आह्वान गरेका छन् ।