Latest News

रवि लामिछानेलाई कांग्रेसले गर्यो मन्त्री बन्ने अफर, के गर्लान् रवि ?

Nepalese Times June 19, 2022 (1 Year ago)    869 Views

काठमाडौं । चर्चित संचारकर्मी रवि लामिछानेले प्रतिनिधिसभा चुनावका लागि आवश्यक गृहकार्य सुरु गरिसकेका छन् । स्वतन्त्र उम्मेदवारी दिने या कुनै एक राजनीतिक दल समात्ने भन्ने निश्चित नभएपनि उनी काठमाडौंको कुनै एक निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने निश्चितजस्तै छ ।

लामिछानेले मंगलबार राष्ट्रिय सभागृहबाट आफ्नो एजेण्डा र योजनाबारे औपचारिक घोषणा गर्दैछन् । रविले असार ७ गतेको कार्यक्रमबाटै आफ्नो राजनीतिक यात्राको प्रारुप सार्वजनिक गर्ने तयारी गरेका छन् ।

यसबीचमा उनले विभिन्न दलका नेता, पेशाकर्मी, सामाजिक अभियन्तालगायतसँग छलफल गरिरहेका छन् । रविले आफूलाई धेरै पार्टीहरुले अफर गरिरहेको बताएका छन् । खासगरी नेपाली कांग्रेस र राप्रपाका नेताहरुसँग उनी सघन संवादमा रहेको बुझिएको छ ।

नेपाली कांग्रेसका केही नेताहरुले रविसँग विभिन्न चरणमा छलफल गरेका छन् । रविले वचन नदिए पनि कांग्रेसले उनलाई ‘सांसद हुँदै मन्त्री बनाउनेसम्म’ को प्रस्ताव गरेको स्रोतल जनाएको छ।

कांग्रेसले रविको सार्वजनिक व्यक्तित्व र लोकतन्त्रप्रतिको प्रतिबद्धताका आधारमा यस्तो प्रस्ताव गरेको हो । सार्वजनिक जीवनमा महत्वपूर्ण काम गरेका र समाजमा छवि निर्माण गरेका व्यक्तित्वहरुलाई मूलधारको पार्टीले महत्व दिनुपर्ने निष्कर्षसहित कांग्रेसको शीर्ष तहमै छलफल गरेर प्रारम्भिक छलफल गरिरहेको कांग्रेसका एक नेताले बताए ।

रविलाई काठमाडौं क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने प्रस्ताव गरिएको छ । त्यस्तै निर्वाचनपछि बन्ने सरकारमै उपयुक्त भूमिका दिनेबारे पनि छलफल भएको छ ।

काठमाडौं २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको क्षेत्र हो । यसपटक नेपाल रौतहटबाट निर्वाचन लड्ने सम्भावना छ । विगतमा सो क्षेत्रमा कांग्रेसबाट दीपक कुइँकेल र प्रतिमा गौतमले प्रतिस्पर्धा गरेका थिए ।

रविको मतदाता नामावली भने काठमाडौं ३ मा रहेको छ । यही कारण उनी सोही क्षेत्रबाट निर्वाचन लड्न इच्छुक छन् । असार ७ गते नै सबै कुरा स्पष्ट पार्ने सार्वजनिक गरेका रविले आफ्नो आगामी यात्राको मोडालिटीबारे संकेतसम्म गरेका छैनन् । आफ्नो राजनीतिक अभियानमा स्वयंसेवकका रुपमा सहयोग गर्न चाहनेलाई आवेदन दिन उनले आह्वान गरेका छन् ।

स्थानीय निर्वाचन सकिएलगत्तै सक्रिय राजनीतिमा होमिने निर्णयका पछाडि आसन्न संसदीय निर्वाचन लड्ने रविको चाहना पनि मुख्य कारक हो । यद्यपि संसदमा पुग्नमात्रै राजनीतिमा आएको सन्देश दिन रवि चाहँदैनन् । त्यसैले निकटस्थहरुसँगको छलफलमा उनले आफू काम गरेर देखाउने ठाउँसम्म पुग्नुपर्ने बताउने गरेका छन् । ग्यालेक्सी टेलिभिजनबाट बिदाइ हुने क्रममा पनि उनले प्रश्न सोध्ने ठाउँमा नभएर उत्तर दिने ठाउँमा जान चाहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस