Latest News

बालुवाटारमा रातारात देउवा, माधव र प्रचण्डको बाझाबाझ

Nepalese Times June 19, 2022 (1 Year ago)    660 Views

काठमाडौं । केपी ओली सरकारले सम्पूर्ण कागजी तयारी पूरा गरेर पनि कार्यान्वयनमा लान नभ्याएको एउटा विवादास्पद सम्झौतामा अहिलेको देउवा सरकारले हस्ताक्षर गर्ने सम्भावनालाई लिएर सत्ता गठबन्धनमै हल्लिखल्ली मच्चिएको छ ।

सम्भवतः यही महिनाको २७ गते प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका जाँदै हुनुहुन्छ । रक्षा मन्त्रालयको कार्यभार पनि सम्हाल्नुभएका उहाँले त्यहाँ यसअघि नै सेनापति प्रभुराम शर्मामार्फत सैन्य सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गराउने सम्भावनाबारे चर्चा चुलिएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाल (प्रचण्ड) अस्ति सोमबार राति सवा १० बजेसम्म बालुवाटारमा रहनुभयो । उहाँहरुको सरोकार थियो, ‘सैन्य सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुहुन्छ कि गर्नुहुन्न ?’

वासिङ्गटन प्रशासनले नेपालमा केपी ओली नेतृत्वको सरकार गठन भएलगत्तै त्यसबारे ताकेता गरेको थियो । त्यही सरोकार अमेरिकी सेनाका प्यासिफिक कमाण्डर चाल्र्स एन्थोनी फ्लिनको नेपाल भ्रमणमा पनि व्यक्त गरे । त्यही सूचनाका आधारमा माधव र प्रचण्ड रातारात बालुवाटार दौडिनुभएको हो । अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अन्तर्गत अमेरिकी सेना र नेपाली सेनाबीच दीर्घकालीन सहकार्य गर्ने सामरिक महŒवको प्रस्ताव नेपालले पाँच वर्षदेखि अघि नबढाई राखेको थियो, जसमा हस्ताक्षर गर्नका लागि ओली सरकार तयार भइसकेको अवस्थामा उक्त सरकार ढल्यो ।

गत वर्षको असारमा देउवा सरकार बनेलगत्तैका कूटनीतिक छलफल र बैठकमा वासिङ्गटन प्रशासनले बारम्बार स्टेट पार्टनरसिप प्रोग्राममा नेपाली सेनाको सहभागिताबारे प्रतिबद्धता माग गर्दै आएको छ । सन् २०१५ मै अमेरिकासँग स्टेट पार्टनरसीप प्रोग्राममा सहकार्य गर्नेबारे छलफल हुँदै आयो, तर सम्झौता अघि नबढ्दा अमेरिका हतारिएको छ । तर, सोमबार राति माधव–प्रचण्ड भेटमा प्रधानमन्त्री देउवाले ‘म त्यस्तो विवादास्पद काम गर्दिनँ’ भन्नुभएको छ ।

बालुवाटार जानुअघि सोमवार दिउँसो सिंहदरबारभित्र संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यसबारे माधव नेपालले कडा अभिव्यक्ति दिनुभएको थियो । उहाँले प्रधानमन्त्रीले अमेरिका भ्रमणबारे समितिलाई जानकारी दिनुपर्ने माग गर्दै ‘आ–आफ्नो पालामा क–कसले के–के गर्नुभयो, सम्झिएर मनन गरौँ’ भन्दै त्यहाँ उपस्थित एमाले नेता प्रदीप ज्ञवाली र भीम रावलप्रति कटाक्ष गर्नुभएको थियो । स्मरणीय छ, ओली सरकारको कार्यकालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली अमेरिकासँगको सैन्य सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुपर्छ भन्ने पक्षका सक्रिय खेलाडी हुनुहुन्थ्यो ।

अघिल्लो भनाभन

सोमबार सैन्य सहकार्यसम्बन्धी समझदारीपत्रको विषयमा प्रधानमन्त्रीसँग कुरा गर्नुअघि पनि माधव नेपाल बालुवाटार पुग्नुभएको थियो । प्रस्तावित निजगढ विमानस्थलदेखि स्थानीय निर्वाचनमा भएको जालझेलपूर्ण गठबन्धनसम्मका कुरामा प्रधानमन्त्रीसँग उहाँको चर्काचर्की परेको स्रोतले जनाएको छ ।

उक्त भेटमा स्थानीय निर्वाचनको गठबन्धनको कुरा उठ्नासाथ माधवले भन्नुभयो, ‘तपाईंहरुको व्यवहार ठीक छैन । तपाईंहरु र माओवादीले पनि हामीलाई धोका दिएकै हो । गठबन्धन गर्ने कागजमा सही भएको छ, तर कार्यान्वयन भएन । जिल्ला र प्रदेश तहमै धोका भएको छ ।’ देउवाले ‘मैले भनेको हुँ, मेरो कुरा पनि मानेनन्’ भन्दै टार्न खोज्नुभयो । तर, माधवले त्यतिमा चित्त बुझाउनुभएन ।

‘तपाईंका मान्छेले मानेनन् भन्ने कुरा म मान्छु ? त्यसो भनेर हुन्छ ?’ उहाँले भन्नुभयो, ‘पार्टी चलाउने, पार्टीको सभापति हुने, अनि कार्यकर्ताले सभापतिको कुरा मानेनन् भन्न पाइन्छ ? नमान्ने भए किन गठबन्धन गर्नुभयो त ?’ देउवा ‘मैले अन्तिमसम्म, हुनेसम्मको प्रयास गरेकै हो’ भनेर थम्थम्याउन खोज्दै हुनुहुन्थ्यो । माधवले बोल्नै दिनुभएन । भन्नुभयो, ‘फेरि हामी गठबन्धनमै जाँदैछौँ । भोलि मैले पनि साथीहरुले मानेनन् भनेर पन्छिन मिल्छ ? पार्टी नेतृत्वलाई नटेर्ने हामी कस्तो पार्टी चलाउँदै छौँ, कस्तो सिष्टम बसाल्दै छौँ ?’ देउवाले ‘अब त्यस्तो हुँदैन’ भनेर कुरा टुंग्याउनुभयो ।

खासमा उक्त भेट निजगढ विमानस्थल बनाउने विषयमा केन्द्रित थियो । ‘जहाँ विमानस्थल बनाउने भनेको हो, त्यो ठाउँमा रुखै छैन’ दिव्यमणि राजभण्डारीसँगै जानुभएका माधवले देउवालाई भन्नुभयो, ‘लु हिँड्नुस् मसँग हेलिकोप्टरमा, सँगै गएर हेरौँ ।’ माधवको निर्वाचनक्षेत्रसँग जोडिने उक्त विमानस्थल अवलोकन गर्न उहाँ पटक पटक त्यहाँ पुग्नुभएको छ । भर्खरै संसदको विकास समितिका सम्पूर्ण सदस्य, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेहरु सहित उहाँ पुग्नुभएको थियो । जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस